सुप्रिम सहकारीका बचतकर्ता आन्दोलित

काठमाण्डौं । बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताहरु फेरि आन्दोलित भएका छन् । उक्त सहकारीमा पौने एक अर्ब रकम जम्मा गरेका झण्डै दुई हजार वचतकर्ताहरू वचत फिर्ता र दोषीमाथि कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले बुटवलबाट प्रदेश राजधानी दाङ पुगेर मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयमा ज्ञापनपत्र बुझाउनुका साथै ती मन्त्रालय र कार्यालय घेराउ र नाराबाजी गरेका छन् । ‘वैशाखदेखि हामी आन्दोलनमै थियौं, हाम्रो वचत फिर्ताको लागि राजनीतिक दल, सांसद र मन्त्रीहरुलाई पनि जानकारी गरायौं, तर कुनै सुनुवाइ नभएपछि फेरि आन्दोलनमा उत्रिन वाध्य भयौं’, संघर्ष समितिका संयोजक विजय नेपालले भने, ‘अब हामी वचत फिर्ताको सुनिश्चित नभएसम्म चरणवद्ध आन्दोलन गर्छौं । संयोजक नेपालका अनुसार सुप्रिम सहकारीमा एउटै व्यक्तिको तीन करोड रुपैयाँसम्म वचत फसेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सहकारीका एक हजार ८३१ जनाले आफूहरुको ८६ करोड १८ लाख २३ हजार अपचलन गरेको भन्दै प्रहरीमा उजुरी दिएका थिए । सहकारीका १९ हजार ३५ जना सदस्यको कुल वचत रकम एक अर्ब २ करोड १४ लाख २५३ रुपैयाँ देखिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी मनोहर भट्टले जानकारी दिए । सहकारीमा जीबी राईसहितको समूहले सर्वसाधारणबाट बचत भएको १ अर्ब ३१ करोड रकममध्ये सहकारीका वचतकर्ताहरु यसअघि वैशाखमा पनि आन्दोलनमा उत्रिएका थिए । सहकारीको रकम विभिन्न व्यक्ति र कम्पनीका नाममा पठाउने मुख्य आरोपी पूर्वअध्यक्ष जीबी राई र बुटवलस्थित मुख्य कार्यालयका व्यवस्थापक सागर केसीसहित ९ जना फरार छन् । राई समूहले सहकारीको १४ करोड भन्दा धेरै रकम गोर्खा मिडिया नेटवर्कमा लगानी गरेको अभियोग पत्रमा उल्लेख छ । भूपेन्द्र बाबु राईको नाममा कर्जा बनाएर ३ करोड ३० लाख रुपैयाँ सो मिडियाको नामको पेश्की फर्स्योट गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । भूपेन्द्रबाहेक थप १० लाख ९९ लाख ३६ हजार सहित कुल १४ करोड २९ लाख रकम गोर्खा मिडियामा लगानी गरेको देखिएको जिल्ला अदालतमा दायर गरेको अभियोग पत्रमा उल्लेख छ ।

सरकारी वकिल कार्यालयले सहकारीको रकम हिनामिना गरेको आरोपमा २८ जनाविरूद्ध मुद्दा दायर गरेको थियो । सहकारीको रकम ऋणका रुपमा लैजानेमा संस्थापक अध्यक्ष जीबी राईदेखि पूर्वगृहमन्त्री रवि लामिछाने एक समय आवद्ध भएको गोर्खा मिडिया नेटवर्क समेत छ । प्रहरीको अनुसन्धान प्रतिवेदनमा लामिछानेको नाममा पनि ऋण लगानी भएको उल्लेख छ । प्रहरी प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले चलाएको मुद्दामा सहकारीका अध्यक्ष बुटवलका ओमप्रकाश गुरुङ थुनामा छन् । अन्य ६ जनालाई जिल्ला अदालत रुपन्देहीले धरौटीमा रिहा गर्न आदेश गरे अनुसार रिहा भएका छन् । सहकारीका पूर्वपदाधिकारी पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन चार लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् । अर्का प्रतिवादी नवीन अछामी १० लाख, भैरहवा शाखा व्यवस्थापक दुर्गा चापागाईं पाण्डे १८ लाख, नीता थापामगर २ लाख, दीपक न्यौपाने ४ लाख ४५ हजार र रोशनी गुरुङ २ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् । रकम हिनामिना भएको भन्दै बचतकर्ताले उजुरी गरेपछि प्रहरीले गत फागुन ३ गते सुप्रिम सहकारीका अध्यक्ष गुरुङ र भैरहवा शाखा व्यवस्थापक चापागाईंलाई पक्राउ गरेको थियो । इलाका प्रहरी कार्यालय बुटवलले करिब दुई महिना लामो अनुसन्धानपछि गत वैशाख ३ गते जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *