अमेरिकाले आफ्नो सरकार ढालिदिएको हसिनाको आरोप

काठमाडौँ । बंगलादेशको प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएको एक सातापछि आफ्नो सरकार अमेरिकाले ढालिदिएको आरोप लगाएकी छन् ।

भारतीय मिडिया इकोनोमिक टाइम्सका अनुसार हसिनाले बंगलादेशको सेन्ट मार्टिन टापु अमेरिकालाई नदिँदा आफ्नो सरकार ढालिएको बताएकी छन् । हसिनाले भनिन्, ‘मैले शवको जुलुस हेर्नु नपरोस् भनेर राजीनामा दिएँ । उनीहरू विद्यार्थीको शवमाथि चढेर सत्तामा आउन चाहन्थे तर मैले त्यसो हुन नदिन प्रधानमन्त्री पदबाट राजीनामा दिएँ । यदि मैले सेन्ट मार्टिन टापुको सार्वभौमसत्ता संयुक्त राज्य अमेरिकालाई समर्पण गरी बंगालको खाडीमा उसको प्रभुत्व स्थापित गर्न दिएको भए म सत्तामा रहन सक्थें। म मेरो देशका जनतालाई आग्रह गर्दछु, कृपया कट्टरपन्थीहरूको भ्रममा नपर्नुहोस्।’

इकोनोमिक टाइम्सले आफ्नो रिपोर्टमा शेख हसिनालाई उद्धृत गर्दै भन्यो, ‘यदि म देशमा बसेको भए, धेरैले ज्यान गुमाउने थिए र थप स्रोत र सार्वजनिक सम्पत्ति क्षतिग्रस्त हुने थियो। मैले देश छोड्ने धेरै कठिन निर्णय लिएँ। म तपाइँको नेता भएँ किनकी तपाइँहरूले मलाई चुन्नुभयो ।’

उनले अगाडि भनिन् ‘मेरो पार्टी अवामी लिगका कयौं नेता मारिएका छन्, कार्यकर्तालाई उत्पीडन भइरहेको छ, घरमा तोडफोड र आगजनी भइरहेको छ भन्ने खबर पाएपछि मेरो मन रोएको छ । अल्लाहको कृपाले म चाँडै फर्कनेछु। अवामी लिगले चुनौतीको सामना गरेर बारम्बार उठेको छ । म सँधै बंगलादेशको भविष्यको लागि प्रार्थना गर्नेछु, जुन महान राष्ट्र बनाउन मेरो बुबाले सपना देख्नुभयो र प्रयास गर्नुभयो। जुन देशको लागि मेरो बुबा र परिवारले आफ्नो ज्यान दिनुभयो ।’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *