जीएमई रेमिटलाई गाभेर थप ठूलो बन्यो आईएमई
काठमाडौं । आइएमई लिमिटेड र जीएमई रेमिटलाई प्राप्ति गरेपछि अब दुई कम्पनी एक भई आइएमई लिमिटेडको नामबाट साउन ३० गते कारोबार हुने भएको छ । यी दुवै कम्पनीको गत जेठमा भएको साधारणसभाले एक आपसमा गाभ्ने तथा गाभिने सम्बन्धि प्रस्ताव पारित गरेका थिए । नेपालमा रेमिट्यान्सको माध्यमबाट ठूलो योगदान दिँदै आएको आइएमई लिमिटेड इन्टरनेशनल मनि एक्सप्रेसको दुनियाँमा पर्यावाची नै बनेको छ । नेपालमा दुई दशकदेखि रेमिट्यान्स सेवा दिंदै आएको यस कम्पनीले हजारौंलाई रोजगारी दिएको छ । यस कम्पनीको अध्यक्ष हाल चन्द्रप्रसाद ढकाल छन् । एकीकृत कारोबार पछि भने सो कम्पनीको अध्यक्ष हेमराज ढकाल बन्नेछन् । आईएमईले प्राथमिक सेयर (आईपीओ) पनि सार्वजनिक गर्ने तयारी गरिरहेको छ । कम्पनीले सर्वसाधारणका लागि १० करोड रुपैयाँबराबरको आईपीओ जारी गर्ने तयारी गरिरहेको छ । आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ । अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा पनि गइसकेको छ । सेबोनले अनुमति दिने वित्तिकै कम्पनीले आईपीओ ल्याउने बताएको छ । नेपालको पहिलो रेमिट्यान्स कम्पनी, देश तथा विदेशमा सबैभन्दा ठूलो नेटवर्क, सबैभन्दा धेरै सेवाग्राही, सबैभन्दा धेरै रेमिट्यान्स कारोबार गर्ने र सरकारलाई पनि सबैभन्दा बढी कर बुझाउने रेमिट्यान्स कम्पनीको रुपमा स्थापित यो कम्पनीको व्यवस्थापकिय नेतृत्व खिलेन्द्र पौडेलले गरिरहेका छन् ।
पछिल्लो समय यस कम्पनीले रेमिट्यान्स सेवासँगै डिजिटल प्रविधिमा पनि प्राथमिकता दिइरहेको छ । डिजिटल प्रविधिको विकास, प्रयोग तथा प्रतिस्पर्धाले लागतलाई अझ कम गर्ने रणनीतिलाई आत्मसात गर्दै कम्पनीले सेवाग्राहीहरूलाई कम लागतमै रेमिट्यान्स पठाउने तथा प्राप्त गर्ने अवस्था सिर्जना गर्न काम गरिरहेको बताएको छ । जीएमई रेमिट पनि विप्रेषणको बजारमा छोटो समयमा ठूलो फड्को मारेको कम्पनीमध्ये पर्छ । विदेशमा रहेका लाखौं नेपालीको रेमिट्यान्सलाई सहज रुपमा नेपाल भित्र्याउनका लागि यस कम्पनीले ठूलो भूमिका खेलिरहेको छ । विश्वका विभिन्न रेमिट कम्पनीहरुसँग समझदारी गरेर जीएमईले पनि आफ्नो बजारलाई थप विस्तार र प्रभावकारी बनाउँदै आएको छ । जीएमईले बहराइन, साइप्रस, हङकङ, अष्ट्रेलिया, अमेरिका, यूएई, कतार र कुवेतमा आफ्नो व्यापार तथा नेटवर्क विस्तार गरेको छ । हाल जीएमईको व्यवस्थापकीय नेतृत्व दिवाकर पौडेलले गरिरहेका छन् भने सञ्चालक समितिको नेतृत्व अरुण पौडेल शर्माले गरिरहेका छन् । अब आइएमई र जीएमई एक भएर थप प्रभाकारी ढंगले काम गर्ने रणनीति बनाएका छन् ।