उद्योग मन्त्री भण्डारीसँग अष्ट्रेलियाली राजदूत भोल्कको बिदाइ भेट
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग नेपालका लागि अस्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले बिदाइ भेट गरेकी छिन् ।
सिंहदरबारस्थित मन्त्रालयमा भएको उक्त भेटमा नेपालका लागि अस्ट्रेलियाको राजदूतका रूपमा आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा मन्त्री भण्डारीले राजदूत भोल्कलाई बधाई ज्ञापन दिए । नयाँ आउने राजदूतले आगामी दिनमा समेत नेपाल र अस्ट्रेलियाबिचको सुमधुर सम्बन्ध थप विस्तार गर्ने उनले विश्वास व्यक्त गरे ।
दुई मुलुकबिच मित्रता, सहयोग, पारस्परिक विश्वास र सम्मानमा आधारित सौहार्द्रपूर्ण सम्बन्ध रहँदै आएको उल्लेख गर्दै मन्त्री भण्डारीले भने, “अस्ट्रेलिया नेपालको मित्रराष्ट्र हुनाका साथै विकास प्रक्रियाको महत्त्वपूर्ण साझेदार रहँदै आएको छ, नेपालले स्वास्थ्य, जनजीवन, शासकीय प्रबन्ध, जनशक्ति विकासलगायत क्षेत्रमा अस्ट्रेलियाबाट सहयोग प्राप्त गर्दै आएको छ ।”
अस्ट्रेलिया नेपाली विद्यार्थीको उच्च शिक्षा अध्ययनको प्रमुख गन्तव्य मुलुकका रूपमा रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले नेपाली समुदायलाई अस्ट्रेलियामा उपलब्ध सहयोगका लागि अस्ट्रेलियन सरकारलाई धन्यवाद ज्ञापन गरे । उनले अस्ट्रेलियाबाट नेपालमा पर्यटक आगमनसमेत उत्साहजनक रहेको उल्लेख गर्दै आगामी दिनमा पर्यटकको सङ्ख्या थप वृद्धि हुने विश्वास व्यक्त गरे ।
सो अवसरमा राजदूत भोल्कले आगामी दिनमा दुई देशबिचको व्यापार, लगानी, पर्यटन तथा शिक्षाको क्षेत्र थप विस्तार, सुदृढ र सन्तुलित हुने विश्वास व्यक्त गरिन् । साथै उनले नेपालमा आयोजना गरिएको व्यापार तथा लगानी प्रवर्द्धन समितिको पहिलो बैठक दुई मुलुकबिचको लगानी तथा व्यापार अभिवृद्धि गर्न महत्त्वपूर्ण हुने अपेक्षा राखिन् ।