एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड भदौ २८ मा हुदैं
काठमाडौं । एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०८० आगामी भदौ २८ गते काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हरेक वर्ष आयोजना हुँदै आएको अवार्डको २१औँ संस्करण आयोजनाका लागि बुधबार मञ्च र मुख्य प्रायोजक गोल्छा ग्रुपबीच सम्झौता भएको छ । सम्झौतामा गोल्छा ग्रुपकोतर्फबाट निर्देशक अभिमन्यू गोल्छा र मञ्चको तर्फबाट अध्यक्ष दुर्गानाथ सुवेदीले हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार गोल्छा ग्रुपले यसपटक गोल्छाले बजारमा ल्याउन लागेको नयाँ एनएस ४०० सिरिज पल्सर बाइक एकजना विजेतालाई तथा अन्य चार विजेतालाई एनएस २०० बाइक प्रदान गर्नेछ । त्यस्तै मञ्चलाई १२ लाख रुपैयाँ नगद प्रदान गरिने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । निर्देशक गोल्छाले भने, पल्सर बाइक र खेलाडीको गति, क्षमता र भावना मेल खान्छ । हामीले खेलाडीलाई दिने सम्मानले खेल क्षेत्रमा टेवा पुगेको हामीलाई विश्वास छ । नेपाल खेलकुद पत्रकार मञ्च र गोल्छा ग्रुपबीच अवार्डकै लागि सहकार्य भएको यो १६औँ वर्ष हो । यो वर्ष स्पोर्टस अवार्डसँगै मञ्चले एसियाली खेलकुद पत्रकार महासंघ (एआईपीएस एसिया)को कंग्रेस पनि एकैसाथ आयोजना गर्न लागेको बुधबार सम्झौता कार्यक्रममा जनाइएको थियो । खेलकुद पत्रकार मञ्च एआईपीएस एसियाको सदस्य राष्ट्र हो ।
उक्त कंग्रेस भदौ २५ देखि २८ सम्म हुनेछ । कंग्रेसमा एसियाका ३३ देशका खेलकुद पत्रकारको उपस्थिति रहनेछ । मञ्चका अध्यक्ष सुवेदीले भने, यसपटक अवार्डको विशेषता के हो भने एसियाभरका पत्रकारले नेपालको यो प्रतिष्ठित अवार्ड कार्यक्रम प्रत्यक्ष हेर्ने छन् । यस वर्ष अवार्डमा १० विधा समावेश गरिएको छ । वर्ष उत्कृष्ट पुरुष खेलाडी, वर्षका उत्कृष्ट महिला खेलाडी, वर्षका उत्कृष्ट युवा खेलाडी, वर्षका उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, टिम अफ दी एयर, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड विधा रहेको छ। यसमध्ये वर्षका पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस अवार्डका विजेताले बाइक प्राप्त गर्नेछ भने चार विधाहरू टिम अफ दी एयर, लाइफटाइम एचिभमेन्ट, स्पेसल र पारा एथलिट अवार्डका विजेताले एक लाख रुपैयाँ प्रदान गरिने कार्यक्रममा जानकारी गराइएको छ । यसअघि यी विधाका विजेतालाई ५० हजार रुपैयाँ प्रदान गर्ने गरिएकोमा यस पटकदेखि एक लाख बनाइएको मञ्चका महासचिव प्रज्वल ओलीले बताए । कार्यक्रममा एनएनआईपीएका मानार्थ अध्यक्ष दीपक विष्टले मञ्चले निरन्तर रूपमा आयोजना गर्दै आएको अवार्ड कार्यक्रमले नेपाली खेलाडीका लागि ठूलो हौसलाको विषय बन्दै आएको बताए । हामी खेलाडीको लागि यो नै सबैभन्दा ठूलो सम्मान र हौसलाको कार्यक्रम हो ।
यसका लागि हामी मञ्च र प्रायोजन गर्ने गोल्छा ग्रुपप्रति आभार व्यक्त गर्न चाहन्छौँ । पल्सर स्पोर्टस अवार्ड कार्यक्रमलाई सफल बनाउन मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीको अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको छ । साथै, अवार्ड कार्यक्रमका लागि विभिन्न उपसमिति गठन गरिएको विज्ञप्तिमा जनाइएको छ । गत वर्ष पुरुषतर्फ एथलेटिक्सका दीपक अधिकारी, महिलातर्फ एथलेटिक्सकी राजपुरा पछाईं, युवामा क्रिकेटका देवकुमार खनाल र प्रशिक्षकमा एथलेटिक्सका चन्द्रबहादुर गुरुङ उत्कृष्ट भएका थिए । पिपल्स च्वाइस अवार्ड टेबलटेनिसकी सिक्का सुवाल श्रेष्ठले जितेकी थिइन् । स्पेसल अवार्ड फोटोपत्रकार सुदर्शन रञ्जितलाई प्रदान गरिएको हो । पारा एथलिट सम्मान एथलेटिक्स पारा खेलाडी मैंया विशुंखे, एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड चिनियाँका खेलपत्रकार चेउ चान फाइ र लाइफटाइम एचिभमेन्ट अवार्ड भारोत्तोलनका ओलम्पियन राजेन्द्रकुमार प्रधानलाई प्रदान गरिएको थियो ।