गोदावरीका मेयर र उपमेयरले पाए सफाइ

काठमाडौं । विशेष अदालतले भ्रष्टाचारको आरोप लागेका ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन र उपमेयर मुना अधिकारीसहितलाई सफाइ दिएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले सबै आरोपितलाई सफाइ दिएको हो । अदालतले आरोप दाबी पुष्टि नहुने फैसला गरेको हो । गोदावरी नगरपालिकाले गरेको विवादित निकासी कर निर्धारण नगरपालिकाले आर्थिक ऐनमा नै तोकेको करको दरको आधारामा मात्र बोलपत्र आह्वान गरी सक्षम पक्षलाई निर्धारण गरेको देखिन्छ ।

यी प्रतिवादीहरू नगरकार्यपालिका पदाधिकारी जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीहरूको रूपमा सेवारत रहेको हुँदा नगरसभाबाट निर्मित कानुनको कार्यान्वयनसम्म गर्ने हैसियतमा रहेको देखिन्छ, अदालतले भनेको छ । उनीहरूमाथि ढुंगा तथा बालुवा उत्खनन् र बिक्री वितरणमा राजस्व छुट दिएर भ्रष्टाचार गरेको आरोप लागेको थियो । अख्तियारले मेयर महर्जन र उपमेयर मुना अधिकारीले पाँच वर्षमा एक अर्ब चार करोड ८६ लाख ६५ हजार २ सय ८७ रुपैयाँ भ्रष्टाचार गरेको दाबीसहित २१ जेठमा मुद्दा दायर गरेको थियो । उनीहरूले अघिल्लो पाँच वर्षे कार्यकालमा भ्रष्टाचार गरेको अख्तियारको निष्कर्ष थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *