सबै प्रिपेड मोबाइल नम्बरमा अन्तर्राष्ट्रिय रोमिङ सेवा स्वतः उपलब्ध

काठमाडौँ । नेपाल टेलिकमले बुधबारदेखि सबै प्रिपेड मोबाइल नम्बरमा अन्तर्राष्ट्रिय रोमिङ सेवा क्रमिक रूपमा स्वतः उपलब्ध हुने व्यवस्था मिलाएको छ । यस अनुसार हाल प्रिपेड ग्राहकहरूले अन्तर्राष्ट्रिय रोमिङ सेवा सक्रिय गराउनु पर्ने अवस्था रहेकोमा अब भने सबै प्रिपेड ग्राहकहरूको मोबाइल नम्बरमा अन्तर्राष्ट्रिय रोमिङ सेवा क्रमिक रूपमा स्वतः उपलब्ध हुनेछ । सेवाग्राहीले *1415*7# डायल गरे पश्चात् उपलब्ध हुने मेनुबाट उपयुक्त विकल्प छनौट गरी आफ्नो मोबाइलमा रोमिङ सेवा उपलब्ध भए र नभएको यकिन गर्न सकिन्छ । अन्तर्राष्ट्रिय रोमिङ सेवा सुचारु भएका ग्राहकहरूले नेपाल टेलिकमकै सिम प्रयोग गरी विदेशमा पनि भ्वाइस, डाटा र एसएमएस सेवा प्रयोग गर्न सकिन्छ । नेपाल टेलिकमले रोमिङ सेवा उपलब्ध गराएका भारत बाहेकका अन्य देशहरूमा यो सुविधा क्रमशः उपलब्ध हुनेछ ।

भारतमा भने यो सेवा उपयोग गर्नका लागि कम्पनीका ग्राहकहरूले नेपालमै रहँदा आफ्नो मोबाइलबाट यूएसएसडी कोड *1415*7# डायल गरी वा नेपाल टेलिकम एपमार्फत अन्तर्राष्ट्रिय रोमिङ सेवा सुचारु गर्न सकिन्छ । नेपालमा भएको समयमा रोमिङ सेवा एक्टिभ नगरी विदेश गएमा त्यहीँबाट पनि यो सेवा एक्टिभ गर्नको लागि roaming.support@ntc.net.np मा इमेल मार्फत अनुरोध गर्न सकिने टेलिकमको भनाई छ । नेपाल टेलिकमको प्रिपेड मोबाइलमार्फत हाल ४० देशमा रोमिङ सुविधा प्रयोग गर्न सकिन्छ । सेवाग्राहीले विश्वका विभिन्न ४० देशमा नेपाल टेलिकमकै प्रिपेड मोबाइल मार्फत भ्वाइस, डाटा र एसएमएस सेवा चलाउन सक्छन् । यसका लागि ती देशहरूमा रहेका ५४ अपरेटरसँग सम्झौता सम्पन्न भई सेवा सञ्चालनमा रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *