जनैपूर्णिमाका अवसरमा लाग्ने मेलाका लागि सिङ्गारिँँदै गोसाइँस्थान

धुलिखेल । जिल्लाको बनेपा नगरपालिका–६ स्थित धार्मिक पर्यटकीयस्थल गोसाइँस्थानमा साउन शुक्लपूर्णिमा अर्थात् जनैपूर्णिमा तथा रक्षाबन्धनका अवसरमा लाग्ने मेलाका लागि सो स्थल सिङ्गारिएको छ । बनेपाको बुडोलबाट सडक दायाँबायाँ व्यापारिक चहलपहल बढ्ने भएकाले मेला व्यवस्थापनका साथै वडाको सहयोगमा रङरोगन गरिँदैछ ।

रसुवाको धार्मिकस्थल गोसाइँकुण्डसँग कथा र महत्व जोडिएकाले त्यहाँ पुग्न नसकेका भक्तजन यहाँ रहेको गोसाइँस्थानमा मेला भर्ने गर्दछन् । गोसाइँस्थान धार्मिक तथा प्राकृतिक दृष्टिकोणले महत्वपूर्णस्थलका रुपमा रहेको भक्तजन बताउँछन् ।

बनेपा–६ स्थित गोसाइँस्थानमा जनैधारण गर्ने तथा शिव मन्दिरमा दर्शन तथा पूजाअर्चना गर्न दर्शनार्थीको घुइँचो लाग्ने गरेको गोसाइँस्थान संरक्षण समितिका अध्यक्ष विष्णुनारायण श्रेष्ठले बताए । गत वर्षभन्दा यस वर्ष यहाँ भक्तजनको आगमन वृद्धि हुने अपेक्षा लिइएको उनले उल्लेख गरे ।

“मेलामा बनेपाको बुडोलबाट सडक दायाँबायाँ व्यापारिक चहलपहल बढ्छ । तसर्थ रङरोगन गर्नुका साथै खानेपानी, बत्ती जडान र सुरक्षाका लागि भीड तथा सुरक्षा व्यवस्थापनका लागि प्रहरी तथा स्वयंसेवक परिचालन गर्नेछौँ । स्वास्थ्य सहायताका लागि सहायता कक्षा राख्नेछौँ”, श्रेष्ठले भने । यहाँ हिन्दू, बुद्धका साथै बोनधर्म परम्पराअनुसार पूजा र दर्शन गर्ने भक्तजनको घुइँचो लाग्ने उनले जानकारी दिए ।

हिन्दू धर्मसंस्कारअनुसार यहाँ रहेको शिव मन्दिरमा पूजागरी ब्राह्मणबाट रक्षाबन्धन र टीका लगाइन्छ । यस्तै तामाङ समुदायका ‘झाँक्री’ ढ्याङ्ग्रो बजाउँदै विभिन्न किसिमकले पूजागरी दर्शन गर्ने गर्दछन् । नेवार समुदायले अन्नपात चढाउने, ब्राह्मण समुदायले जनै लगाउने र हातमा रक्षाबन्धन (डोरो) बाँध्ने प्रचलन छ ।

रसुवाको गोसाइँकुण्ड पुग्न नसक्नेले बनेपाको गोसाइँस्थानमा गएर दर्शन गर्ने प्रचलन रहँदै आएको स्थानीय बताउँछन् । रसुवाको गोसाइँकुण्ड पुग्न नसक्नेले यहाँको गोसाइँस्थानमा आएर दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहेको स्थानीय समाजसेवी भैरव केसीले बताए ।

“परापूर्वकालमा भाद्र पूर्णिमाका दिन देवगण र राक्षसहरु मिलेर समुन्द्र मन्थन गर्दा समुन्द्रको गर्भमा लुकेको विष बाहिर निस्कियो । त्यो विषलाई महादेवले सेवन गरेपछि विष सेवनको छटपटीलाई सहन नसकेर महादेव हिमालय पर्वततर्फ लाग्नुभयो । त्यही क्रममा महादेवको पहिलो बास बनेपा–६, गोसाइँस्थानमा भयो । बिहान भाले बासेपछि रसुवाको गोसाइँकुण्डमा पुगेर त्यहाँ त्रिशूलले घोपेर पानी निकाली पीडा शान्त पार्नुभएको कथन छ”, उनले भने ।

गोसाइँस्थान मन्दिर परिसर क्षेत्रमा हाल नैमिषारण्य संस्कृत गुरुकूल स्थापना भएको छ । धुलिखेलस्थित अरनिको राजमार्गबाट धुलिखेल–रविओपी–काशीभञ्ज्याङसम्मको पक्की सडक निर्माण भइसकेको छ । यहाँबाट हाइकिङ गर्दै नगरकोटसम्म पुग्न सकिन्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *