नेपालको सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुग्न लागेको भन्दै अमेरिकाले दियो बधाई 

काठमाडौँ । नेपालको सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुग्न लागेको भन्दै संयुक्त राज्य अमेरिकाले बधाई दिएको छ ।

नेपाल भ्रमण क्रममा अमेरिकाका व्यवस्थापन तथा स्रोतसम्बन्धी उपविदेशमन्त्री रिचार्ड आर बर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंहदरबारमा शुक्रवार दिउँसो भेट्दै बधाई ज्ञापन गरेका हुन् । माओवादी सशस्त्र युद्ध क्रममा निरूपण हुन बाँकी युद्धकालीन घटनाका लागि आयोग बनाउनेबारे दलहरूले न्याय निरूपण प्रक्रियामा सहमति गर्दै केही दिनअघि संसदबाट विधेयकसमेत पारित भएको पृष्ठभूमिमा अमेरिकाको बधाई नेपाललाई प्राप्त भएको हो । 

‘बर्माले नेपाली राजनीतिक नेतृत्वले सङ्क्रमणकालीन न्याय टुङ्गो पुग्न लागेकामा बधाई दिए, उनले पीडितहरूको लागि वास्तविक पहल भएको अपेक्षासमेत राखेको छु,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो । उपमन्त्री बर्माले नेपाल र अमेरिकाबिच ७७ वर्षदेखिको सम्बन्धको सम्झना गर्दै नेपालको विकासमा आफ्नो देश साझेदार हुन पाएकोमा खुसी समेत व्यक्त गरेका थिए ।

प्रधानमन्त्री ओलीले नेपालको आर्थिक र सामाजिक विकासका क्षेत्रमा अमेरिकी सरकारले गर्दै आएको निरन्तर सहयोगका लागि आभार व्यक्त गरे । ओलीले सन् २०२६ भित्र अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने क्रममा रहेको र राजनीतिक सहमतिका आधारमा नेपालको सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनका विषय टुङ्गो लाग्ने क्रममा रहेको जानकारी गराएको उनको सचिवालयले बतायो ।

भेटमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, परराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *