नागढुङ्गा सुरूङमार्ग असोजदेखि सञ्चालनमा आउने
काठमाडौं । सरकारले सिस्नेखोला–नागढुङ्गा सुरूङमार्ग सञ्चालन गर्ने बिषयमा नेपालसँग कुनै अनुभव नभएकाले सरकारले यो सुरूङमार्ग सञ्चालनको लागि विदेशी कम्पनी भित्र्याउने तयारी गरेको छ । सडक विभागले देशकै पहिलो यो सुरूङमार्ग आयोजनाको सम्पूर्ण काम आगामी असोज महिनासम्म सम्पन्न गर्ने लक्ष्य राखेको छ । ‘सुरूङमार्ग सम्पन्न गरेसँगै यसको सुरक्षाका विषय, ट्राफिक व्यवस्थापन, अग्नि नियन्त्रण, सुरूङमार्ग प्रयोगकर्ताबाट उठाउने टोल (शुल्क), मर्मतसम्भारजस्ता गम्भिर बिषयलाई एकैसाथ व्यवस्थापन गर्नुपर्छ । यसका लागि सडक विभागसँग अनुभव छैन,’ आयोजनाका एक अधिकारीले भने, ‘त्यसकारण यो सुरूङमार्ग सञ्चालनका लागि अन्तरराष्ट्रिय बोलपत्र आह्वान गरेर अनुभवी विदेशी कम्पनी ल्याउने तयारी गरेका छौं । ति अधिकारीका अनुसार ठेक्का प्रक्रियाबाट योग्य कम्पनीलाई सञ्चालनको जिम्मा दिने तयारी गरिएको छ । त्यस्तो कम्पनीले सुरूङमार्ग सञ्चालन र मर्मत दुवैथरी काम गर्नेछ । उक्त कम्पनीको कामलाई अनुगमन, नियमन र गुणस्तर परीक्षण गर्ने परामर्शदाता कम्पनीले नै कति टोल शुल्क लिने, मर्मतसम्भारलगायत सञ्चालनका लागि सुझाव दिने भएकाले छुट्टै परामर्शदाता नियुक्त गर्न नपर्ने विभागका अधिकारीले बताए ।
नियमन, अनुगमन तथा गुणस्तर परीक्षणको काम हालको परामर्शदाताले नै गर्नेछ । परामर्शदाताका रूपमा नेपाली कम्पनी पनि संलग्न छ । मुख्य सुरूङ छेडिसकेको यो आयोजनामा अहिले सुरूङभित्र ‘फिनिसिङ’ को काम भइरहेको छ । यो सुरुङ मार्गको कूल लम्बाई २ हजार ६ सय ८८ मिटर छ । दुई लेनको उक्त सुरूङमार्गभित्रको सडक ढलान (कंक्रिट सडक) हुने आयोजनाका सिनियर डिभिजनल इन्जिनीयर (सीडीई) गोविन्द दुमरूले जानकारी दिए । उनका अनुसार हाल आयोजनामा लाइटिङ, आगलागी भए नियन्त्रण गर्ने, कालोपत्रे (ढलान) जस्ता काम भइरहेको छ । त्यस्तै सुरुङमार्गभित्र अक्सिजनको मात्रा मिलाउने उपकरण जडान, रेस्क्यु सेन्टर निर्माण, कन्ट्रोल सिस्टम जडान, टेलिफोन जडान, लाइट जडान, तापक्रम मिलाउने उपकरण जडानलगायतका दर्जनौं प्राविधिक काम धमाधम भइरहेको छ । दुवैतर्फको टनेल अपरेशनल बिल्डिङ्ग नजिकै टोलगेट निर्माण हुनेछ । टोलगेटसँगै २४ सैं घन्टा सुरक्षाकर्मी, आपतकालीन समयको लागि प्राथमिक चिकित्सकको टोली, एम्बुलेन्स, टनेल प्रविधिसम्बन्धी प्राविधिक कर्मचारीलगायतको उपस्थिति रहनेछ । मुख्य सुरुङमार्ग भित्र भने ६० किलोमिटरको गतिमा मात्रै सबारी साधन गुडाउन पाइनेछ । यो सुरुङमार्ग पार गर्न ३ मिनेटको समय लाग्नेछ । सुरूङमार्गबाट आवतजावत गर्ने सवारीसाधनबाट उठाउने शुल्क पनि निर्धारण गर्नुपर्ने हुन्छ । यसका लागि कार्यविधि तयार पार्ने काम पनि सुरु भएको छ । ‘सुरूङमार्ग सञ्चालनको कार्यविधि बनाउनुका अतिरिक्त टोल कति हुन्छ र कसले उठाउने भन्ने विषयमा कार्यविधि बनाउने क्रममा छौं,’ दुमरूले भने । यो आयोजना ४२ महीनामा सम्पन्न गर्ने गरी २०७६ कात्तिक ४ गते शिलान्यास भएको थियो । सुरूङमार्गको मुख्य सुरूङ २०८१ वैशाख ३ गते छिचोलिएको थियो । उक्त सुरूङ सन् २०२३ को अप्रिलमा सम्पन्न गर्ने गरी जापानको हाजमा एण्डो कर्पोरेशनसँग सम्झौता भएको थियो । कोरोना महामारी र स्थानीयको विवादले पटकपटक सुरूङमार्ग निर्माण अवरुद्ध भएपछि म्याद थपिएको थियो । थप भएको म्याद अनुसार सम्पन्न गर्नुपर्ने २०२५ अक्टोबरसम्म तोकिएको छ । नेपाल सरकार र जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)बीच यो सुरूङमार्ग बनाउन सन् २०१६ मा सम्झौता भएको थियो । त्यसअनुसार उक्त ऋण तिर्ने अवधि ४० वर्षको हुनेछ । नेपालले जाइकाबाट १६ अर्ब रुपैयाँ बराबर ऋण लिएको छ ।
यो परियोजनामा नेपाल सरकारले ६ अर्ब रुपैयाँ बेहोर्नेछ । यो सुरूङमार्गको कुल लागत २२ अर्ब रुपैयाँ छ । सिस्नेखोला–नागढुङ्गा सुरुङमार्गको गत् बैशाख ३ गते तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ब्रेक थ्रु गरेका थिए ।एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा २०७६ कात्तिकमा उक्त सुरुङमार्गको निर्माण कार्य सुरु गरिएको थियो । गत् आर्थिक बर्षसम्म आयोजनाको समग्र भौतिक प्रगति ७२।१९ र वित्तीय प्रगति ७७।६२ प्रतिशत हासिल गरेको छ । आयोजनाका अनुसार सर्वसाधारणले मुख्य सुरुङमार्ग निःशुल्क रुपमा प्रयोग गर्न भने पाउने छैनन् । काठमाडौं तराई द्रुतमार्ग प्रयोग गरेवापत सर्वसाधारणले केहि शुल्क तिर्नुपर्ने मोडालिटीजस्तै यो सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनले भने केहि शुल्क अनिवार्य रुपमा तिर्नुपर्ने व्यवस्था गर्न लागिएको छ । सुरुङमार्गबाट यात्रुवाहक, सामान्य तौलको ट्रक, कार र जीप मात्रै यो सुरुङमार्गमा प्रवेश गर्न पाउनेछ । त्यो पनि सिस्नेखोला र चन्द्रागिरीतर्फको मुखमा निर्माण हुने टोलगेटले सवारी साधनको तौल र उचाँई परीक्षण गरेर तोकिएको निश्चित तौल र उचाँईको आधारमा मात्रै प्रवेश गर्न पाउनेछन् । सोहि तौल र उचाइको आधारमा शुल्क निर्धारण गरिनेछ । यो सुरुङमार्गमा पेट्रोल, डिजेल र ग्यास बोकेको ट्याँकर र बुलेट, दुई पाँग्रे सवारी साधनलाई भने प्रवेश गर्न नदिने गरि प्रवेश निषेधको व्यवस्था हुनेछ ।