इनसाइडर ट्रेडिङ गर्नेलाई तीन करोडसम्म जरिवाना
काठमाडौं । अर्थ मन्त्रालयले प्रतिनिधिसभामा दर्ता गरेको विधेयकमा सेयरको भित्री कारोबार (इनसाइडर ट्रेडिङ) गर्नेलाई ५० लाखदेखि तीन करोड रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था प्रस्ताव गरिएको छ । गत शुक्रबार दर्ता गरिएको यस विधेयकमा सेयरको भित्री कारोबार गर्नेलाई थप तीन वर्ष जेल सजायसमेत हुने व्यवस्था गरिएको छ ।
यस्तो काम कारबाहीबाट कसैलाई हानि नोक्सानी पर्न गएमा भने त्यस्तो हानि नोक्सानीसमेत भराइदिनुपर्ने व्यवस्था विधेयकमा छ । हालको धितोपत्र ऐनमा एक लाखदेखि तीन लाख जरिवाना र दुई वर्ष जेल सजाय हुने व्यवस्था छ । संसद्मा दर्ता भएको विधेयकमाथि सांसदहरूले दफाबार छलफल गर्नेछन् । त्यसपछि यो विधेयक अर्थ समितिमा छलफलका लागि जान्छ । सांसदबाट उठेका प्रश्नलाई समेटेर ऐन संशोधन गरिने छ ।