बीएण्डसीलाई सम्बन्धनको फैसला सच्याउनुपर्ने माग राखेर डा. केसीले दिए सर्वोच्चमा निवेदन
काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईले सञ्चालन गरेको झापाको बीएण्डसी मेडिकल कलेजको पक्षमा भएको फैसला सच्याउनुपर्ने माग राखेर डा. गोविन्द केसीले सर्वोच्च अदालतमा पुनरावलोकनको निवेदन दिएका छन् । आफू मुद्दाको प्रत्यक्ष सरोकारवाला नभएको अवस्थामा पनि डा. केसीले फैसला सच्याउनुपर्ने माग राखेर सर्वोच्चमा निवेदन दिएका हुन् । उनले फैसला त्रुटिपूर्ण भएकाले त्यसको पुनरावलोकन हुनुपर्ने र बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिनु भन्ने आदेश खारेज हुनुपर्ने माग राखेका छन् । अदालतबाट भएको आदेश वा फैसला चित्त नबुझ्ने पक्षले त्यसलाई बदर गर्न माग राखी निवेदन दिन पाउँछ । त्यसका लागि निवेदन दिने व्यक्ति सरोकारवाला हुनुपर्नेछ ।
बीएण्डसी मेडिकल कलेजले दुई पटक सर्वोच्च अदालतमा रिट निवेदन दिएको थियो र पछिल्लो रिटनिवेदनको सुनुवाईपछि सर्वोच्च अदालतबाट सम्बन्धन दिनु भनी आदेश भएको हो । दुवै रिट निवेदनमा डा. गोविन्द केसीलाई विपक्षी बनाइएको छैन। बरु उक्त मुद्दामा आफ्नो पनि सरोकार रहेको भन्दै शशी विक्रम कार्कीले सर्वोच्च अदालतमा निवेदन दिएका थिए । रिट निवेदनको पक्ष,विपक्षसँग प्रत्यक्ष रुपमा नजोडिएका डा. केसीले फैसला त्रुटीपूर्ण भएको भन्दै आइतबार सर्वोच्च अदालतमा पुनरावलोकनको निवेदन दिएका हुन् । पुनरावलोकनको निवेदन दर्ता गर्न उनी आफै अदालत पुगेका थिए । डा. केसीले पेश गरेको निवेदन सर्वोच्च अदालत प्रशासनले दर्ता गर्ने वा नगर्ने भनी निर्णय गर्छ । दर्ता गर्ने निर्णय भएमा तीन न्यायाधीश सम्मिलित पूर्ण इजलासले फैसलाको पुनरावलोकनका लागि अनुमती दिने वा नदिने भनी निर्णय गर्नेछ ।