जनै पूर्णिमाको महिमा र महत्त्व
हिन्दु धार्मिक शास्त्र अनुसार हरेक वर्षको साउन महिनाको शुक्ल पूर्णिमा तिथिको दिन पर्ने धार्मिक तथा सांस्कृतिक पर्व जनैपुर्णिमा नयाँ जनै धारण गर्ने तथा बिधिबत रक्षा बन्धन र ऋषितर्पणी गरी धूमधामका साथ मनाउने पर्व हो । एक दिन अगाडिदेखि चोखो रूपमा व्रत बसी बेलुका शुद्ध पकाएको एकछाक मात्र खाने चलन छ । जनैपूणिमाका दिन एका बिहानै स्नान गरी चोखो नितो भई जौ, तिल, कुशद्वारा बिधिवत ऋषिलाई तर्पण गरी वैदिक विधि पूर्वक मन्त्रित नयाँ जनै फेर्ने चलन रहेकाले यस पर्वलाई जन भाषामा जनै पूर्णिमा भनिएको हो । जनै पूर्णिमा तथा रक्षा बन्धनका दिनले विभिन्न धार्मिक एवं पौराणिक प्रसङ्गहरू सम्झाई राखेको हुन्छ । भविष्य पुराणमा उल्लेख्य भए अनुसार सत्य युगमा बारम्बार युद्धमा दानव राज दानवेन्द्र महाबली हारेर देवराज इन्द्र समेत लखेटिएका समस्त देवगणलाई सुरक्षा हेतु गुरु वृहस्पतिले रक्षा विधान तयार पारी बाँधेको मन्त्रित रक्षा सूत्रका कारण नै देवराज इन्द्र विजयी भएका थिए भन्ने पौराणिक कथनबाट अभिप्रेरित रक्षा बन्धनको परम्परा हिन्दुहरूको लागि आजसम्म मानिँदै आएको छ । त्यसै गरी श्रीमद्भागवत महापुराणमा वर्णन भए अनुसार जप, तप र तपस्याबाट भगवान् विष्णुलाई आफूसँग बस्न बाध्य तुल्याउन सक्ने दानवराज बलिलाई विष्णु भगवान् नफर्किएर चिन्तित माता लक्ष्मीले चतुर्याइँका साथ रक्षा बन्धन बाँधेर आफ्नो भाइ बनाई दानवराज को कब्जाबाट विष्णु भगवानलाई मुक्त गरेको दिन साउन शुक्ल पूर्णिमा कै दिन हो ।अर्को कथन अनुसार यमदूतले आफ्नी बहिनी यमुनासँग राखी बाँध्ने क्रममा जस जसले यस दिन पवित्रताको राखी बान्दछन् ती सबै यमदूतका सजाय र भय बाट मुक्त हुन्छन् भनी दिएको बचन अनुरूप राखी बाँध्ने प्रचलन आएको भन्ने किंवदन्ती पनि रहेको छ । यस दिन सबै जना जनै लगाउन तागाधारीहरूले पुरानो जनै फेरेर नयाँ जनै लगाउने गर्दछन् । यस दिन सबैले ब्राह्मण पुरोहित तथा भान्जाहरूसँग रक्षा बन्धन बाँध्न लगाउने चलन छ ।
ब्रह्माण्डहरूले गाउँ घरमा सबैतिर गई सबै मानिसलाई रक्षा बन्धन बाँधेर टिका लगाई दिने गर्दछन् । जनै पूर्णिमा अर्थात् रक्षा बन्धनको पावन दिनमा नेपाल लगायत भारतमा दिदीबहिनीले दाजु भाइ लाई दीर्घायु र स्वास्थ्य र सफल जीवनको कामना गरी अनेक थरिका कलात्मक राखी बाँधी आफ्ना दाजु भाइबाट आफ्नो रक्षाको बचन लिने गर्दछन् । यो पवित्र दिनलाई काठमाडौँको नेवार समुदायमा गुन्हुपुन्ही भनी मनाइने चलन छ । आफ्नो विभिन्न किसिमका स्वरबाट वर्षा र खेतीको बारे कृषकलाई जानकारी दिने भ्यागुताले गठे मुगलका दिन नरभक्षी घण्टासूरलाइ बाटो भुलाई खाल्डोमा जाकिदिएकाले नेवार समुदायका मानिस जनै पूर्णिमा अर्थात् रक्षा बन्धनको दिन भ्यागुताको पूजा गर्ने र उसलाई खेतमा लगेर खाना खुवाउने चलन रहेको छ । विशेष गरी यस दिन नेवार समुदायमा नौ थरी जातका गेडा गुडी मिसाई भिजाएर टुसा उम्रेपछि क्वाँटी बनाई खाने र आफन्तलाई खुवाउने चलन छ । यसरी बनाएको क्वाँटी खानाले शरीरमा रोग नलाग्ने पेट सफा हुने र वर्षाका कारण चिसो भएको शरीरबाट सर्दी बाहिर जान्छ भन्ने विश्वास गरिन्छ ।