टिकटक माथिको प्रतिबन्ध फुकुवाको तयारीमा नेपाल सरकार

काठमाडौं । सरकारले टिकटकमाथिको प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेको छ ।

टिकटकले पत्र लेख्दै सरकारले राखेका सर्तहरूको पालना गर्ने प्रतिबद्धता जनाएपछि सरकार प्रतिबन्ध फुकुवाको तयारीमा लागेको हो । यसअघि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले २०८० कात्तिक २७ गतेबाट टिकटकले सामाजिक मर्यादा बिथोलेको भन्दै टिकटक बन्द गर्ने निर्णय गरेको थियो । अहिले प्रचण्ड नेतृत्वको सरकारले प्रतिबन्ध लगाएको दस महिनापछि हटाउन लागिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीकै चाहनामा प्रतिबन्ध फुकुवाको पहल भइरहेको स्रोतले जनाएको छ । सकेसम्म यसबारेमा छिट्टै निर्णय लिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई प्रधानमन्त्री ओलीले निर्देशन दिइसकेका छन् । तत्काल फुकुवा खुलाउने तयारी थाल्न निर्देशन पाएपछि सरकारका प्रवक्ता समेत रहेका सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङले टिकटकका नेपाल प्रतिनिधिसँग छलफल गरेका छन् ।

सञ्चार मन्त्रालयले निर्णय गरेर मन्त्रिपरिषद् बैठकमा प्रस्ताव पेस गरेपछि त्यसबारे आवश्यक कारबाही अघि बढ्नेछ । ‘क्याबिनेटबाटै प्रतिबन्ध लगाइएकोले यसको फुकुवाको निर्णय पनि क्याबिनेटबाटै गर्नुपर्छ स्रोतले भन्यो , ‘त्यसका लागि सञ्चारबाट फुकुवाको प्रस्ताव क्याबिनेट ल्याउने प्रक्रिया अघि बढिसकेको छ।’

सञ्चार मन्त्रालयका एक अधिकारीले पनि टिकटक प्रतिबन्ध हटाउने विषयमा छलफल भइरहेको पुष्टि गरे । टिकटकको नेपाल हेर्ने प्रतिनिधिसँग कुराकानी गरेर छिट्टै निर्णय गर्ने योजनामा मन्त्री गुरुङ छन् । ओली सरकारले सम्भवतः अबको केही दिनमा टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गर्न सक्ने स्रोतले जनाएको छ ।

चीन सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाउन पटक पटक विभिन्न तहबाट दबाब दिँदै आएको थियो । टिकटक प्रतिबन्धपछि सर्वोच्च अदालतमा मुद्धाहरु समेत दायर भएका छन् भने हाल ती मुद्धाहरु सुनुवाइको क्रममा रहेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *