धितोपत्र बोर्डको सञ्चालकमा अवस्थी सिफारिस
काठमाण्डौं । नेपाल उद्योग वाणिज्य महासंघले धितोपत्र बोर्डको सञ्चालक समिति सदस्यमा गोकर्ण अवस्थीलाई सिफारिस गरेको छ। धितोपत्र बोर्ड पूँजीबजारको नियामक संस्था हो । बोर्डमा महासंघको प्रतिनिधि सञ्चालक सदस्य रहने गर्दछ। अवस्थी विगत साढे ३ वर्षदेखि नेपाल उद्योग वाणिज्य महासंघमा महानिर्देशकको रूपमा कार्यरत छन् ।अवस्थीले वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका छन् भने काठमाडौं विश्वविद्यालयबाट राजनीतिक अर्थशास्त्रमा विद्यावारिधि गर्दैछन् ।
उनले भारतीय जनसञ्चार संस्थानबाट विकास पत्रकारितामा डिप्लोमा गरेका छन् । महासंघमा कार्यभार सम्हाल्नु अघि अवस्थी नेपालस्थित संयुक्त राष्ट्र संघ कार्यालयमा दिगो विकास लक्ष्य सल्लाहकारको रूपमा कार्यरत थिए । त्यसअघि करिब दुई दशक पत्रकारिता गरेका अवस्थी एक दशकभन्दा बढी समय कान्तिपुर दैनिकमा आर्थिक सम्पादक थिए । उनी नेपाल आर्थिक पत्रकार समाजका पूर्व अध्यक्ष पनि हुन् । अवस्थीले नेपाल व्यवस्थापन संघले प्रदान गर्ने प्रतिष्ठित सम्मान मनेजर अफ द ऐयर २०२३ प्राप्त गरेका छ्न् ।