पञ्चकन्या माई हाइड्रोपावरको अध्यक्षमा धुव्रकुमार श्रेष्ठ नियुक्त
काठमाडौं । पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडको अध्यक्षमा धुव्रकुमार श्रेष्ठ नियुक्त भएका छन् । भदौ ५ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई अध्यक्ष बनाएको हो । यसअघि कम्पनीको अध्यक्ष प्रेमबहादुर श्रेष्ठ थिए । स्वास्थ्यमा समस्या भएको भन्दै उनले राजीनामा दिएका थिए । प्रेम बहादुर श्रेष्ठ धुब्रकुमार श्रेष्ठका बाबु हुन् । सञ्चालक समितिको एउटै बैठकले बाबुको राजीनामा स्वीकृत गरेर छोरालाई अध्यक्षमा नियुक्त गरेको कम्पनीले जानकारी दिएको छ ।
नेपालमा पब्लिक कम्पनी पनि प्राइभेट कम्पनीको शैलीमा सञ्चालन हुने गरेको र यसले कम्पनीको संस्थागत सुशासन कमजोर हुने गरेको भन्दै यस्तो अभ्यासको आलोचना हुने गरेको छ । तर लगानीका आधारमा सञ्चालक समिति र अध्यक्षको नियुक्त हुने भएकाले जसको बढी लगानी छ उही कम्पनीको निणर्यक पदमा रहने अभ्यासलाई सामान्य रुपमा लिने अभ्यास पनि रहेको छ ।