एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा पाण्डे र बस्नेतको उम्मेदवारी
काठमाडौं । नेकपा एकीकृत समाजवादीको पदाधिकारी र पोलिटब्युरो चयनका लागि उम्मेदवारी दर्ता जारी छ । वरिष्ठ उपाध्यक्ष पदमा राजेन्द्र पाण्डे र घनेन्द्र बस्नेतले उम्मेदवारी दिएका छन् ।
नेकपा एसको महाधिवेशनले अध्यक्ष र महासचिव सर्वसम्मत गरेपनि डेढ महिनासम्म अन्य पदाधिकारी चयन गर्न सकेको थिएन । सहमति जुट्न नसकेपछि आज निर्वाचनबाट पदाधिकारी चयन गर्ने तयारी छ ।
यसैगरी उपमहासचिव पदमा चार जनाको उम्मेदवारी परेको छ । राजेन्द्र राई, मेटमणि चौधरी, जीवनराम श्रेष्ठ र लक्ष्मण केसीले उपमहासचिव पदमा उम्मेदवारी दर्ता गराएका हुन् । सहमतिको प्रयास सफल नभएपछि सोमबारको केन्द्रीय समिति बैठकले निर्वाचनको माध्यमबाट पदाधिकारी तथा पोलिटब्युरो सदस्य छनौट गर्ने निर्णय गरेको थियो।
सोही निर्णयअनुसार पार्टीको निर्वाचन आयोगले निर्वाचन प्रक्रिया अघि बढाएको हो। उम्मेदवारी दर्ता, दाबी विरोध, उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशनलगायत कार्यक्रम सकिएपछि आजै दिउँसो २ बजेदेखि मतदान सुरु हुने निर्वाचन आयोगका अध्यक्ष माधव पौडेलले जानकारी दिए।
एकीकृत समाजवादीमा १८ सदस्यीय पदाधिकारीको व्यवस्था छ । तर हाल अध्यक्ष, सम्मानित नेता र महासचिव गरी तीन पदाधिकारी मात्र छन् । आजको निर्वाचनबाट वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, सचिव र कोषाध्यक्ष तथा पोलिटब्युरो सदस्य चयन गरिने छ ।
एकीकृत समाजवादीमा ३४४ सदस्यीय केन्द्रीय कमिटीको व्यवस्था छ । केन्द्रीय कमिटी सदस्यहरुले पदाधिकारी र पोलिटव्युरो चयन गर्ने छन् ।