निर्दोष हत्या शहिद दिवान सिंह राई स्मृति दिवश

जन्म प्रदत्त मृत्यु छ तिमिसित मर्नेपर्छ तिमिले तर कसरि मर्नु पर्छ ? इतिहाससँग गएर सोध
शहिद दिवान सिंह राई
लोकतन्त्रका हत्यारा निरंकुश राजा महेन्द्रको मृत्यु २०१८ माघ १७ गते भएपछि वेलायत जस्तो लोकतान्त्रिक मुलुकबाट दिक्षित युवराज बिरेन्द्र राजा भएको १ महिना १० दिन मात्र भएको थियो, नेपाली कांग्रेसका दोश्रो पुस्ताका युवा नेता’ योगेन्द्रमान सेरचनको २०२८ चैत्र ४ गते काठमाडांैको ज्ञानेश्वरमा मोटरले किचेर षड्यन्त्रमुलक ढंगबाट हत्या गरियो । पूर्वी नेपाल भोजपुरबाट किराँत समुदायलाई प्रतिनिधित्व गर्दै नेपाली कांग्रेसका दोस्रो पुस्ताका युवा नेता दिवानसिंह राईको पनि २०२९ भदौ १ गते मोरङको काकुम झोेडामा षड्यन्त्र पूर्वक हत्या गरियो । त्यस्तै अर्का दोश्रो पुस्ताका युवा नेता सरोज कोइरालाको पनि भारतको मधुवनि रेलवे स्टेशनमा षड्यन्त्रपूर्वक हत्या गरियो । राजा विरेन्द्रको राज्य रोहणपछि मुलुकप्रति गरिएको पहिलो कार्य नै नेपाली कांग्रेसप्रति प्रतिवद्ध लोकतान्त्रिक नेताहरूको हत्याबाट शुरुवात भएको थियो ।

यी तिनजना नेताहरू मुलुक, लोकतन्त्र र नेपाली कांग्रेसको भविष्य हुनुहुन्थ्यो । यी तिन जना नेताको हत्याले लोकतान्त्रिक मुलुकको निर्माणको आन्दोलनमा ठुलो धक्का लागेको थियो । योगेन्द्रमानको हत्यापछि विपिले भन्नु भएको थियो, “उनको मृत्यु मेरो लागि पनि एक ठुलो बज्रपात थियो । उनी माथि मैले यति धेरै विश्वास भरोसा गर्न थालेको थिए कि, उनी अव नहुदा पंगु जस्तो भएको छु । हामी विपि, शुवर्ण, गणेशमान, र दोश्रो पिढि (योगेन्द्र, सरोज र दिवान) मा उनी सबैभन्दा अगाडि थिए । र मलाई लाग्थ्यो उनीमाथि म आफ्नो सम्पूर्ण जवाफदेहि सुम्पेर निर्धक हुन सक्छु, अब त्यो हुन सकेन । (विपि कोइराला, शहिद दिवानसिंह राई, रेवतिरमण सुवेदी)
शहिद दिवानसिह राईको राजनैतिक जिवन २००८ सालबाट शुरु भई २०१५ सालको आम निर्वाचनमा भोजपुर जिल्ला क्षेत्र नं. २१ बाट अत्याधिक लोकप्रिय मत ल्याई विजयी भई २०१५ सालको विपि कोइरालाको मन्त्रिमण्डलमा गृह मन्त्रीको पदमा रही उनले प्रशासनिक कार्यकुशलताको प्रभाव छोड्न सफल हुनुभएको थियो । निरंकुश तानाशाह राजा महेन्द्रले गरेको २०१७ पुस १ गतेको गैर संबैधानिक अलोकतान्त्रिक सैनिक हस्तक्षेपद्वारा जननिर्वाचित सरकारलाई अपदस्थ गरेपछि २०२५ सालसम्म दिवानासिंह राईले सुन्दरी जलको बन्दीमा ८ वर्षसम्म बन्दी जीवन व्यतित गर्नुभएको थियो ।

२०२५ सालमा सुन्दरीजल वन्दि गृहबाट रिहा भएदेखि २०२९ साल भदौ २ गते हत्या भएको दिनसम्म मुलुकमा लोकतन्त्रको स्थापना गर्नको लागि सक्रिय भइरहनुभयो ।
दिवानसिंह राई बहुआयामिक प्रतिभाका धनी हुनुहुन्थ्यो । उहाँले नेपाली साहित्यलाई पनि गुण लगाउनु भएको छ । सुन्दरी जल वन्दि, गृहको जेलमा हुँदा नै उहाँले निर्दाेष हत्या भन्ने उपन्यास लेख्नु भएको थियो । उहाँको अर्काे कृति रिकुटे पनि बजारमा आएको छ । प्राचीन किराँत दर्शन र सभ्यतामा आधरित विपि कोइरालाको महान कृति सुम्निमाको लेखनमा किराँत सभ्यता र दर्शनबारे बुझ्न विपिलाई शहिद दिवानसिंह राईले सहयोग गर्नु भएको थियो ।

सायद विश्वमै नेपाल यस्तो मुलुक होला जहाँ आफ्नो दलको बेग्लाबेग्लै सहिदहरु छन् । शहिद भनेको राष्ट्रको सम्पत्ती हो । जुन दलको भए पनि श्रद्धाले शिर निहुरिने हुनुपर्दछ । राष्ट्रले त दिवानसिंह राईलाई बिर्सिएको छ तर सम्बन्धित दल नेपाली कांग्रेसले पनि स्वामित्व लिएको पाइएको छैन । आज नेपाली कांग्रेसको सिद्धान्त आदर्शलाई जीवन दर्शन ठानी मुलुकमा लोकतन्त्र स्थापनाको लागि जीवन उत्सर्ग गर्ने शहिदहरुलाई सम्वाहित शहिदका परिवारका सदस्यहरुको अग्रसरतामा मात्र सम्झनुपर्ने स्मृति दिवस मनाउनुपर्ने विडम्बना पूर्ण दिन आएको छ ।

मुलुकको परिवर्तन, आम नेपालीको सामाजिक परिवर्तन, शोषणबाट मुक्ति, लोकतान्त्रिक राज्य व्यवथाको स्थापना आर्थिक समृद्धि एवं स्वाभिमानी जीवनको लागि प्राणको आहुति दिने महान शहिदहरुप्रति सच्चा श्रद्धाञ्जली तब मात्र पूर्ण र सार्थक हुन्छ जब राष्ट्रले उनीहरुको सपना साकार पार्न कटिबद्धता साथ व्यवहारमा उतार्छ ।
इतिहासलाई सम्मान, अध्यन र आत्मसात नगर्ने मुलुक, समाज या व्यक्तिको उन्नति हुन सक्दैन । नवयुग ल्याउने प्रतिबद्धताका साथ निरंकुश तानाशाहहरुको विरुद्ध आफ्नो प्राणको आहुति दिने महान शहिदहरुप्रति भावपूर्ण श्रद्धासुमन ।(लेखक नेपाली कांग्रेसमा आस्था राख्ने युवा ब्यवसायी हुनुहुन्छ)

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *