सिटिजन्स बैंकले धनसँगै ग्राहकको स्वास्थ्य सुरक्षा गर्दै
सिटिजन्स बैंकले जनताको सम्पत्ति वा रकम सुरक्षाका साथै ग्राहकको स्वास्थ्य पनि सुरक्षा गर्ने भएको छ । निक्षेप जम्मा गर्ने ग्राहकको बैंकले स्वास्थ्य पनि हेरचाह गर्ने भएको हो । बैंकिङ क्षेत्रमा सिटिजन्स बैंकले फरक तथा नौलो अभ्यासको थालनी गर्दै ‘स्वास्थ्य र धन बचत खाता’ योजना सञ्चालनमा ल्याएको हो । यस बचत खाता योजनामा बैंकले ग्राहकको सम्पत्तिसँगै स्वास्थ्य पनि सुरक्षा गर्ने जनाएको छ । बैंकका निक्षेप प्रमुख पारसविक्रम थापा स्वास्थ्य र धनलाई सन्तुलन गर्न यो प्रडक्ट ल्याएको बताउँछन् । ‘हामी तपाईको स्वास्थ्य र धनको ख्याल राख्छौं’ भन्ने मूल नाराका साथ बैंकले स्वास्थ्य र धन बचत खाता सञ्चालनमा ल्याएको उनले बताए । उनका अनुसार यस बचत खातामा ग्राहकहरूले स्वास्थ्य र धन गरी दुई वटा फाइदा लिन सक्नेछन् । बैंकका अनुसार स्वास्थ्यतर्फ ग्राहकले वर्षमा एकपटक सम्पूर्ण शरिरको निःशुल्क जाँच्न र परामर्श लिन पाउनेछन् । साथै ग्राहकले दाँत, छाला र आँखा सम्बन्धि निशुल्क परामर्श लिन पाउने बैंकले जनाएको छ । साथै यस बचत खाता अन्तर्गत ईफार्मेसीद्वारा सञ्चालित निःशुल्क डेलिभरी र चिकित्सा खरिदमा विशेष छूट पाउने थापाको भनाइ छ । यदि स्पा गर्न इच्छा लाग्यो भने बैंकले ग्राहकलाई विशेष छुट दिनेछ । यस्तै यस बचत खाता योजनाको सम्पत्तितर्फ खाता खोलेको पहिलो वर्ष इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ र डेबिट कार्डमा कुनै पनि शुल्क लाग्ने छैन । एक वर्षसम्म यी सबै सुविधा बैंकले निःशुल्क उपलब्ध गराउनेछ । लकरको वार्षिक शुल्कमा ५० प्रतिशतसम्म छुट र न्यूनतम ३ लाख रुपैयाँ जम्मा गर्यो भने शतप्रतिशत छुटको व्यवस्था छ । साथै, १ लाख रुपैयाँ सीमा भएको मेडिकल क्रेडिट कार्ड जारी शुल्कमा १०० प्रतिशत छुट पाउने बैंकले जनाएको छ । स्वास्थ्य र धन बचत खाताका ग्राहकले सिटिजन क्यापिटलको पीएमएस सेवामा ५० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।
साथै सीबीआईएल सेक्युरिटिजमा निःशुल्क ब्रोकर खाता खोल्न पाउने बैंकको भनाइ छ । यस्तै यस बचत खाताबाट प्रत्येक महिना न्यूनतम १ सय रुपैयाँसम्म कट्टा हुने गरी आकस्मिक कोष खडा गने सकिने व्यवस्था छ । यो कोषको पैसा आकस्मिक अवस्थामा ग्राहकले निकाल्न पाउनेछन् भने उक्त रमकमा मुद्दती खाता सरह ब्याज पाउनेछन् । यस बचत खातामा विदेशी मुद्रा खरिदबिक्री गर्दा ०।१० पैसा छुटको व्यवस्था पनि छ । ग्राहकले डलर ट्राभल कार्ड जारी गर्दा २५ प्रतिशतसम्म छूट पाउने छन् । साथै, इकोम कार्ड जारी गर्ने शुल्कमा ५० प्रतिशतसम्म छुटको व्यवस्था छ । बैंकका निक्षेप प्रमुख पारसविक्रम थापा स्वास्थ्य र धनलाई सन्तुलन गर्न यो प्रडक्ट ल्याएको र बैंकका ग्राहकको निशुल्क शरिर जाँच गर्ने अवधारणा अनुरुप विभिन्न स्वास्थ्य संस्थासँग सम्झौता भइरहेको बताउँछन् । यस योजनाका ग्राहकले दाँत र छाला सम्बन्धि वर्षमा ५ पटकसम्म निशुल्क परामर्श लिन सक्ने उनको भनाइ छ । ‘हाम्रा ग्राहकको निशुल्क होलबडी चेक गर्ने अवधारणामा बैंकले विभिन्न स्वास्थ्य संस्थासँग सम्झौता गरिरहेको छ, काठमाडौं उपत्यका धेरैवटा संस्था भइसकेको छ, अब उपत्यका बाहिर पनि सम्झौता गर्ने तयारी छ,’ उनले भने, ‘चिरायु हस्पिटल र हिमाल हस्पिटलमा निशुल्क होलबडी चेकअप सुविधा र परामर्श पनि हुनेछ, समाज डेन्टल र नव डर्मा स्किन लेजर एथलेटिक्समा दाँत र छाला सम्बन्धि वर्षमा ५ पटकसम्म निशुल्क परामर्श पाउनेछन् । उनका अनुसार बैंकका ग्राहकले निक्षेप जम्मा गरेवापत उच्च ब्याजदर पनि पाउनेछन् । पैसा मात्रै नभएर स्वास्थ्यलाई पनि ध्यान दिन प्रडक्ट विकास गरेको उनको भनाइ छ ।