असोज पहिलो सातादेखि काठमाडौंमा पुनः मेलम्ची

काठमाडौं । राष्ट्रिय सभाको मंगलबारको बैठकमा सांसद मदनकुमारी साह गरिमाले सोधेको प्रश्नको जवाफ दिँदै खानेपानीमन्त्री प्रदीप यादवले आम नागरिकलाई शुद्ध र स्वच्छ खानेपानी उपलब्ध गराउन सरकारले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना तय गरी कार्यान्वयनमा लगिएको बताएका छन् । मन्त्री यादवले आम नागरिकलाई सहज रूपमा शुद्ध खानेपानी उपलब्ध गराउन सरकारले अगाडि बढाएको योजनालाई पूर्णरूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए । हाल बन्द गरिएको मेलम्ची खानेपानी आयोजनालाई आगामी असोजको पहिलो सातादेखि पुनःसञ्चालनमा ल्याई काठमाडौंबासीलाई खानेपानी सुविधा उपलब्ध गराउने उनले बताए ।

मौसममा सुधार आउनेबित्तिकै सो आयोजनाको सुरुङमा पानी पठाइने उनको भनाइ छ । मेलम्ची खानेपानी आयोजनाको पानी नियमित उपलब्ध हुन नसक्दा वैकल्पिक उपाय अवलम्बन गरेर काठमाडौँवासीलाई खानेपानी उपलब्ध गराइएको उनले बताए । मेलम्ची खानेपानी आयोजनाको बाँधस्थललाई सुरक्षित बनाइ नियमित रूपमा खानेपानी उपलब्ध गराउन सरकारले आवश्यक कार्यक्रम अगाडि बढाइएको उनले जानकारी दिए । तराई–मधेशमा डिप बोरिङमार्फत खानेपानी उपलब्ध गराइएको भए पनि पछिल्ला दिनमा पानीको स्रोत सुकेका कारण केही समस्या पैदा भएको उनको भनाइ छ । अधुरा खानेपानी आयोजना समयमै सम्पन्न गराउन मन्त्रालयले आवश्यक पहल गरिरहेको र आवश्यक बजेट उपलब्ध गराउन अर्थमन्त्रालयलाई आग्रह गरिएको बताए । सरकारको स्पष्ट निर्देशन भए पनि विभिन्न मन्त्रालयका फाइल कर्मचारी प्रशासनले अड्काएर राखेको कारण कतिपय आयोजना कार्यान्वयनमा समस्या पैदा भएको खानेपानी मन्त्री यादवको भनाइ छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *