सिसिटिभीबाट बञ्चरेडाँडा ल्यान्डफिल साइटको निगरानी
काठमाडौं । काठमाडौं उपत्यकाको फोहरमैला व्यवस्थापन हुँदै सेनेटरी ल्यान्डफिल साइटको निगरानी काठमाडौं प्लाजाबाट सुरू भएको छ। फोहर व्यवस्थापन हुने गरेको ल्याण्डफिल साइट नुवाकोट र धादिङ जिल्लाको सिमाना बञ्चरेडाँडामा छ। संस्थागत सुधारको कार्यक्रममध्ये कार्यसञ्चालन हुने ठाउँका विषयमा जानकारी तथा सूचना लिन सिसिटिभी क्यामरा जडान गरिएको काठमाडौं महानगरपालिकाले दिएको छ। साइटमा प्रवेश गर्ने सवारी साधन तथा व्यक्ति प्रवेशसहितका क्रियाकलापमा निगरानी गरेर सम्भावित अनधिकृत क्रियाकलाप रोक्न प्रणाली जडान गरिएको हो। ‘स्वचालित प्रणाली बढाएर संस्थागत सुदृढीकरण गर्ने क्रममा ल्याण्डफिल साइटमा अत्याधुनिक सिसिटिभी क्यामरा जडान गरिएको छ,’ प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले भने।
क्यामराबाट प्राप्त दृश्य प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षबाट निगरानी हुनेछ। यससँगै वातावरण व्यवस्थापन विभागमा पनि दृश्य हेर्न सकिने बनाइएको छ। साइट व्यवस्थापनको काममा खटिएका जनशक्ति, कार्यालय, साइटमा पुग्ने सडक, सुरक्षा बुथ देखिने गरी क्यामरा राखिएका छन्। ‘९ वटा क्यामराका दृश्यबाट साइटको निगरानी हुन्छ,’ वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राई भन्छिन्। पछिल्लो समयमा जडान गरिएका क्यामरा अटोमेटिक नम्बर प्लेट रिकोग्निजेसन (एएनपिआर) क्यामरा हुन्। ‘यसबाट भिडियोको आवाज पनि सुन्न सकिन्छ। यसले डिजिटल मात्र होइन, हातैले लेखेका नम्बर प्लेट पनि पढ्न सक्छ। नेपाली अक्षरबाट लेखिएको नम्बर प्लेट पनि पढ्न र रेकर्ड राख्न सक्छ, सूचना प्रविधि विभागका प्रमुख अनिरुद्र नेपालले भने।