आज ऋषिपञ्चमी मनाइँदै
काठमाडौं । आज ऋषिपञ्चमी पर्व नेपाली नारीहरूले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाउँदैछन् । प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिउनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्छन् । हरितालिका (तिज)को व्रत एवं पूजाआजा महिला, पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहे पनि ऋषिपञ्चमी भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको छ ।
महिलामा रजस्वलाका समयमा छाइछुईलगायत कुनै त्रुटि भएको भए आज ऋषिपञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गर्नाले त्यसबाट मुक्ति पाइने विभिन्न धार्मिकग्रन्थमा उल्लेख गरिएको छ । ऋषिपञ्चमीको अवसरमा गुजेश्वरीको वाग्मती किनारमा आज बिहान नुहाउने तथा पूजा गर्न महिलाको भीड लागेको थियो ।