लुटपाट गर्ने तीनजना पक्राउ

काठमाडौं । लुटपाटमा संलग्न आरोपमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । आरोपितले ललितपुरको सातदोबाटोस्थित कृषि अनुसन्धान केन्द्रनजिकको एकान्त स्थानमा दुईजनाबाट सुनको सिक्रीलगायत सामग्री लुटपाट गरेका थिए । गएको साउन २९ गते उनीहरूले आइफोन दुई, सामसङ मोबाइल दुई, एप्पल कम्पनीको ल्यापटप एकथान र सुनको सिक्री लुटेका प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ का विकास श्रेष्ठ, रामेछापको लिखु तामाकोसी गाउँपालिका–२ का मनोज भुजेल र बाजुराको त्रिवेणी नगरपालिका–७ का डम्मलाल पाध्याय छन् । लुटपाटमा संलग्न एकजना अझै फरार छन् । प्रहरीका अनुसार, विदेशबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका दुई महिलालाई उनीहरू चढेको ट्याक्सी ‘फलो’ गर्दै सातदोबाटो पुगेपछि रोकेर लुटपाट गरिएको थियो ।

दुबईबाट फर्किएका महिलाले अवैध सुन ल्याएको हुन सक्ने आशंकामा उनीहरूले लुटपाट गरेका थिए । पक्राउ परेका तीनजनालाई थप अनुुसन्धानका निम्ति प्रहरी वृत्त सातदोबाटो पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले जानकारी दिए । प्रहरीले उनीहरू सवार बा६९प २८४७ र बा७५प ६३१९ नम्बरका दुई मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ । उनीहरूलाई शुक्रबार र शनिबार काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका मध्ये पाध्याय उपत्यका अपराध अनुसन्धान कार्यालयमै कार्यरत प्रहरी हुन् । उनी पछिल्लो समय अनुसन्धान कार्यालय महाराजगन्ज शाखामा कार्यरत थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *