पूर्वमुख्यमन्त्री कार्कीले थाले आमरण अनशन

विराटनगर । कोसी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले मंगलबार अपराह्नदेखि विराटनगरस्थित कोसी प्रदेशसभा सचिवालय पूर्वपट्टिको वनसखण्डी मन्दिरअगाडि अनशन थालेका छन् । कोसी सरकारले १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार कटौती गरेको, गरिब जेहेनदार विद्यार्थीलाई दिइने छात्रवृत्ति हटाएको, महिला स्वयंसेविकाको प्रोत्साहन भत्ता रोकेको, सुकुम्वासीलाई जग्गा खरिद गर्दा दिइने बैंक ब्याज अनुदानसम्बन्धी व्यवस्था बजेटमै कटौती गरेको आदि विषयमा विरोध जनाउँदै उनले अनशन सुरु गरेका छन् । उनले भने, जनताको कर जनतालाई फिर्ता नै भन्ने मूल ध्येयसाथ ल्याइएका कार्यक्रम पुनः सुरु हुनुपर्छ भन्ने मेरो मूल माग हो । ती कार्यक्रम कार्की मुख्यमन्त्री हुँदा ल्याइएको थियो । नेकपा (एमाले)का हिक्मत कार्की नेतृत्वको सरकारले त्यसलाई कटौती गरेर नेता–कार्यकर्ता पोस्ने गरी वितरणमुखी कार्यक्रम ल्याएको उनले आरोप लगाए । शैलजा आचार्य हृदयरोग केन्द्र र केशलिया करिडोरको बजेट समेत घटाइएको उनले बताए । म जनताको पक्षमा ज्यानै रहुन्जेलसम्म अनशन बस्न आएको हुँ ।

यसैबीच, जिल्ला प्रशासन कार्यालय मोरङले प्रदेशसभा भवन र प्रदेश सरकारका कार्यालय आसपास क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले मंगलबार स्थनीय प्रशासन ऐन, २०२८ को दफा ६ (३ क) बमोजिम निषेधाज्ञा जारी गरेका हुन् । पूर्वमा देवकोटा चोकदेखि पश्चिममा कोसी अस्पतालको चोक क्षेत्र, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोडशेष चोकदेखि दक्षिण जतुवा चोक क्षेत्र, मुख्यमन्त्री निवास वरिपरि ३०० मिटर क्षेत्र, प्रदेश प्रमुखको कार्यालय तथा निवास वरिपरि ३०० मिटर क्षेत्र र जिल्ला प्रशासन कार्यालय, मोरड डाँफे चोकदेखि पूर्व निषेधाज्ञा जारी गरिएको छ । “२०८१।०५।२५ गते १५ः०० बजेदेखि अर्को आदेश नभएसम्मको लागि निम्न स्थानहरूमा सर्वसाधारण तथा सवारीसाधन आवतजावतबाहेक कुनै पनि किसिमको सभा, जुलुस, भेला, र्‍याली, धर्ना प्रदर्शनीलगायत विरोधजन्य कार्यहरू गर्न स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम निषेध गरिएकोले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ, उनले जारी गरेको सूचनामा उल्लेख छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *