एमालेले पार्टीको निर्णायक राष्ट्रिय शक्ति बन्ने वार्षिक कार्ययोजना पारित
काठमाडौं । एमाले पार्टी कार्यालय च्यासलमा शुक्रबार बसेको सचिवालय बैठकले पार्टीको निर्णायक राष्ट्रिय शक्ति बन्ने वार्षिक कार्ययोजना पारित गरेको छ । पार्टीलाई बलियो र निर्णायक राष्ट्रिय शक्तिका स्थापित गर्ने गरी तयार गरिएको वार्षिक कार्ययोजना पारित गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए । बलियो राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्ययोजनामा १८ वटा विषय समेटिएको उनले बताए । नियमित अधिवेशन आयोजना र व्यवस्थापन गर्ने, अरु पार्टीबाट प्रवेश गरेका तथा अधिवेशनमा पराजित भएका नेता कार्यकर्तालाई तीन महिनाभित्र यथोचित जिम्मेवारी दिइसक्ने, कार्यकर्ताको कामको मूल्यांकन गर्ने विधि बसाल्नेलगायत विषय कार्ययोजनामा रहेको पोखरेलले जानकारी दिए ।
महासचिव पोखरेलले पार्टी कमिटी परिचालन र अन्तरविरोध व्यवस्थापनको प्रणाली बसाउने, पार्टी स्कुल सञ्चालनलाई अभियानको रूपमा चलाउने, सरकार र जनप्रतिनिधिको कामलाई प्रभावकारी बनाउने, कामका नयाँ क्षेत्र पहिचान गर्नेलगायत कार्ययोजना रहेको उनले बताए । महासचिव पोखरेलले उपसभामुखका विषयमा बाहिर चर्चामा आएजस्तो के गर्ने भन्ने निष्कर्षमा नपुगे पनि घटनक्रमलाई हेर्दा उपसभामुख पदमा बस्न नमिल्ने धारणा राखे । सचिवालय बैठकले भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी) महासचिव सीताराम येचुरीको अन्तिम बिदाइका लागि पार्टीको तर्फबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई नयाँदिल्ली पठाउने निर्णय गरेको महासचिव पोखरेलले जानकारी दिए ।