तनहुँमा तीनतारे स्तरको ‘सिद्धार्थ होटल दमौली’ सञ्चालनमा
काठमाण्डौं । सिद्धार्थ ग्रुपअन्तर्गत तनहुँको सदरमुकाम दमौलीमा तीनतारे स्तरको ‘सिद्धार्थ होटल दमौली’ सञ्चालनमा आएको छ । होटलको औपचारिक उद्घाटन गर्दै व्यास नगरपालिकाका प्रमुख बैकण्ठ न्यौपानेले पछिल्लो समय दमौली पर्यटकीय नगरीका रुपमा विकास हुँदै गएको र लगानी पनि बढ्दो रहेको बताए । दमौलीलाई पर्यटकीय नगरीका रुपमा विकास भइरहेको, पछिल्लो समय व्यास–देवघाट करिडोर निर्माणदेखि १०८ वटा मूर्ति निर्माण पनि भइरहेका छन् , उनले भने, म लगानीकर्तालाई दमौलीमा लगानीमैत्री वातावरण भएकाले थप लगानीका लागि आग्रह गर्दछु । उनले दमौलीमा पहिलो पटक तीनतारे स्तरको सुविधासम्पन्न होटल निर्माण भएको उल्लेख गर्दै विगतमा कुनै पनि कार्यक्रम गर्नका लागि बन्दिपुर, पोखरालगायतका स्थानमा जानुपर्ने बाध्यता अन्त्य भएको वताए । एपेक्स हस्पिटालिटी लिमिटेडको निर्माण र सिद्धार्थ हस्टिपालिटीको व्यवस्थापनमा ‘सिद्धार्थ बाटिका’ ब्राण्डअन्तर्गतको होटल सञ्चालनमा ल्याइएको हो । एपेक्स हस्पिटालिटी लिमिटेडका अध्यक्ष मुकुन्द तिमल्सिनाले पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गरेको दमौलीमा आवश्यकताका आधारमा होटल निर्माण गरिएको बताए । प्रारम्भमा व्यावसायिक कम्प्लेक्सको अवधारणामा भवन निर्माण सुरु गरिए पनि अन्ततः यहाँ सुविधा सम्पन्न होटल र दुई वटा सिनेमा हाल सञ्चालनमा ल्याइएको छ उनले भने, “होटल निर्माणपछि यस क्षेत्रको भ्रमणमा आउने पर्यटकलगायत लाभान्वित हुने अपेक्षा गरेको छु । उनले दमौली भइ पोखरा, काठमाडौँ र चितवन जस्ता पर्यटकीय गन्तव्यमा पुग्ने यात्रु तथा स्थानीय स्तरमा आयोजना हुने सभा, सम्मेलनका साथै विवाह, व्रतबन्धलगायतका अवसरमा पार्टी आयोजनाका लागि पनि सहज भएको बताए । होटलमा डिलक्स र जुनियर स्वीट गरी ३४ वटा कोठा छन् । साथै करिब एक सय ५० जना क्षमताको एउटा हल र करिब ४० जना अट्ने दुई हल छन् । होटलमा अल डे डाइनिङ रेष्टुरेन्ट, बार रेष्टुरेन्ट र सिद्धार्थ क्याफेको पनि सुविधा छ । पृथ्वी राजमार्गले छिचोलेको तनहुँको सदरमुकाम दमौलीको मेन चोकमा रहेको होटल काठमाडौँबाट १५० किलोमिटर पश्चिम र पोखराबाट ५० किलोमिटर पूर्वमा अवस्थित छ । पर्याप्त सवारी साधन अट्ने गरी अन्डरग्राउण्ड पार्किङ र विद्युतीय चार्जिङको पनि व्यवस्था छ । पूर्वमा विर्तामोडदेखि पश्चिममा महेन्द्रनगरसम्म फैलिएको सिद्धार्थ हस्पिटालिटीको सेवा सञ्जालमा कूल दुई हजारभन्दा बढी जनशक्तिले प्रत्यक्ष रोजगारी पाएको जनाइएको छ ।
पछिल्लो समय यहाँका पर्यटकीय गन्तव्यहरु महर्षी वेदव्यासको तपोभूमि, बादलमाथिबाट सूर्यादय देखिने मानुङकोट डाँडा, मत्स्यकन्यालाई पूजिने छाब्दिबाराही र दमौलीको शीरमा अवस्थित तनहुँ कालिकासँगै आदिकवी भानुभक्तले प्रेरणा पाएको घाँसीकुवा जस्ता ऐतिहासिक र पुरातात्विक महत्वका स्थानमा पर्यटकको संख्या बढिरहेको छ । उनीहरुका लागि लक्षित गरी होटल निर्माण गरिएको हो , अध्यक्ष तिमल्सिनाले भने । उनले नेपालकै ठूलो हस्पिटालिटी सञ्जाल, अन्तर्राष्ट्रिय स्तरको सेवा, विश्वसनीयता तथा कुशल व्यवस्थापनका कारण होटल व्यवस्थापनका लागि सिद्धार्थ ग्रुपसँग सहकार्यका गरिएको बताए । सिद्धार्थ ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्ण न्यौपानेले होटल सञ्चालनले यहाँको पर्यटकीय गतिविधि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । मुलुकको पर्यटन क्षेत्रको विकास विना आर्थिक समृद्धि हासिल नहुने उल्लेख गर्दै उनले विकासको पहिलो सर्त पर्यटन क्षेत्र भएको बताए । मुलुकको कुल ग्राहस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान ४.४ प्रतिशतबाट बढाएर २५ प्रतिशत पुर्याउन सकिन्छ, यसका लागि होटललगायतका पूर्वाधारमा लगानी बढाउनु जरुरी छ , सीइओ न्यौपानेले भने, “पर्यटन क्षेत्रको विकासमार्फत स्थानीय उत्पादनको बजारीकरण र प्रवर्द्धनमा ठूलो सहयोग पुग्ने हो । उनले हाल सिद्धार्थ हस्पिटालिटीअन्तर्गतका आउटलेटमा नेपालमै उत्पादित कफी खपत भइरहेको जानकारी दिए । “हाम्रो नेटवर्कभित्रका होटल, रेष्टुरेन्ट तथा क्याफेमा प्रयोग हुने कफी सिद्धार्थ ग्रुपअन्तर्गतको कृषि कम्पनी बायोटिका र नेपाली किसानले उत्पादन गरेको हो, आगामी दिनमा होटलमा स्वदेशमा उत्पादित खाद्यान्न हुनेमा हाम्रो जोड रहनेछ । एपेक्स हस्पिटालिटी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील न्यौपानेले आफूहरुले नयाँ व्यवसाय सुरुआत गरेको र सिद्धार्थ हस्पिटालिटीसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । उनले भवन निर्माण सुरु गरेको लामो समयपछि सुविधासम्पन्न होटल तथा क्यूएफएक्स ब्राण्डमा दुई वटा सिनेमा हल सञ्चालनमा ल्याइएको जानकारी दिए ।
त्यसअवसरमा तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले होटलको सेवा ग्राहकमुखी हुनुपर्ने बताए । उनले दमौलीमा अहिलेसम्मकै ठूलो लगानीमा होटल सञ्चालन आएको र यसलाई सफल बनाउन सबैको साथ र सहयोग आवश्यक रहेको बताए । कार्यक्रममा गलेश्वर धामका पीठाधीश स्वामी आत्मानन्द गिरीले होटलको व्यावसायिक सफलताको शुभकामना दिँदै मेहनतका साथै आत्धात्मिक चिन्तन र ध्यानले मात्रै सफलता प्राप्त हुने भएकाले मेहनतसँगै अध्यात्ममा केन्द्रित हुन सुझाव दिए । व्यास नगरपालिका–२ का वडाध्यक्ष काशीराम श्रेष्ठले दमौलीमा ठूलो लगानीमा सुविधा सम्पन्न होटल सञ्चालनमा आएको उल्लेख गर्दै यसको सञ्चालनमा सबैको साथ र सहयोग रहने प्रतिबद्धता जनाए । होटल संघ गण्डकी प्रदेशका उपाध्यक्ष दुर्गाविलास भट्टराईले यस होटल सञ्चालनले यहाँको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउनेमा विश्वास व्यक्त गरे । उद्योग वाणिज्य संघ दमौलीका अध्यक्ष बैकण्ठनाथ मिश्रले दमौलीमा आवश्यकताअनुसारको स्तरीय होटल सञ्चालनमा आएको उल्लेख गर्दै यसको व्यावसायिक सफलताका लागि आफूहरुले साथ र सहयोग रहने उल्लेख गरे ।