शुभकामना सहकारीको २४ औं साधारण सभा सम्पन्न,अध्यक्षमा पुनः कासुला
भक्तपुर । शुभकामना बचत तथा ऋण सहकारी संस्थाको २४ औं साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष रामप्रसाद कासुलाको अध्यक्षता एंव नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सहकारी संघ (नेफ्स्कून) का अध्यक्ष चन्द्र ढकालको प्रमुख आथित्यतामा सभा सम्पन्न भएको हो । सभामा बोल्दै प्रमुख अथिति ढकालले भक्तपुरको सहकारी अभियान सफल रहेको बताए । भक्तपुरको सहकारी अभियानमा अहिलेसम्म प्रश्न चिन्ह नउठेको अध्यक्ष ढकालले बताए । सदस्यमाझ सहकारी शिक्षालाई प्राथमिकताका लग्नुका साथै भक्तपुर बचत संघले जिल्लाको सहकारी अभियानको अभिभावकत्व लिएको कारण पनि प्रश्न चिन्ह खडा नभएको उनले प्रष्ट पारे । आफु नेफ्स्कूनको अध्यक्षमा निर्वाचित भएर आएपछि अभियानलाई हित हुने काम गर्दै आएको उनले बताए । सहकारी के र कसका लागि हो भन्ने कुरा बुझ्ने माध्यम शुभकामना सहकारी रहेको भन्दै उनले समाजमा सहकारीको विकल्प नरहेको जनाए । संस्थाप्रति सदस्यले विश्वास गर्ने वातावरण सधै बनाउन आग्रह गर्दै उनले सदस्यको हितका लागि काम गर्न सुझाए ।
साधारण सभामा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले सहकारी मुल्य, मान्यता र सिद्धान्त विपरित चलेका केही सहकारी संस्थाले समग्र अभियानको बदनाम गरेको बताए । सहकारीको प्रभावकारी अनुगमन गर्न नसक्दा सहकारीमा विकृति बढेर गएको भन्दै उनले विकृति आउँदा समेत नियमाक निकाय टुलुटुलु हेरेर बसेको आरोप लगाए । सहकारीको नाममा सदस्यबाट बचत लिएर कम्पनी चलाएको उनको आरोप छ । कान्तिपुर र सुमेरु सहकारीले अस्पताल चलाएको देखिए पनि त्यो सहकारीको नभई कम्पनी मोडेलमा भएको लाखाजुले बताए । सदस्यहरुले पनि स्थानीय र समुदायमा आधारित सहकारी संस्थामा मात्र सदस्य बनेर कारोबार गर्न उनको आग्रह छ । सहकारीले मासिक बचत गर्न सिकाउने भन्दै उनले ब्याजको लोभ देखाएर ठुलो रकम संकलन गर्ने सहकारी नै नभएको उनले प्रष्ट पारे । त्यसैगरी जिल्ला सहकारी संघ भक्तपुरका उपाध्यक्ष बिरेन्द्रभक्त प्रधानाङ्गले समुदाय र सदस्यमा आधारित सहकारी सुरक्षित रहेको बताए । पछिल्लो समय सहकारीको बचत अपचलनको घटना बढेर गएको भन्दै उनले त्यसबाट बच्न सम्बन्ध विच्छेद गर्ने क्रम समेत बढेको बताए । सभामा संस्थाका कोषाध्यक्ष नारायणबहादुर बासुकलाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै गत आर्थिक बर्षमा ३ करोड ८५ लाख खुद नाफा गरेको जानकारी दिए । संस्थाले आर्थिक वर्ष २०८०।८१ को असार मसान्तसम्म ४ करोड २८ लाख ९८ हजार कुल नाफा आर्जन गरेकोमा आयकर ४३ लाख १७ हजार कटाएर सो नाफा आर्जन गर्न सफल भएको उनले सभालाई जानकारी दिए ।

सभामा वासुकलाले संस्थाको शेयर पुँजी १० करोड ८६ लाख, सदस्य संख्या ९ हजार ४०६ जना रहेको जानकारी दिए । संस्थाको कुल सम्पत्ति १ अर्ब ४८ करोड १८ लाख १६ हजार पुगेको समेत उनले बताए । सभामा वार्षिक प्रतिवेदन पेश गर्दै सचिव पुष्पलाल तिमिलाले चालु आर्थिक बर्ष २०८१।०८२ मा सहकारी ऐन नियम बमोजिम रही पल्स मापदण्डको आधारमा १५ प्रतिशत सदस्य बृद्धि गर्ने, शेयर पुँजी बृद्धिलाई निरन्तरता दिने, औसत बचतलाई बृद्धि गर्ने, संस्थाको कुल तरलता मध्ये कम्तीमा ५० प्रतिशत अल्पकालिन वित्तीय लगानीको रुपमा व्यवस्थापन गर्ने र कम्तिमा ७० प्रतिशत ऋण लगानी उत्पादनमूलक क्षेत्रमा जाने गरी परिचालन गर्ने नीति लिएको बताए । सो अवसरमा शुभकामनाले पुर्वअध्यक्ष एव्म सल्लाहकार समितिका प्रमुख सल्लाहकार बालमुकुन्द सुवाललाई विशेष सम्मान गरेको छ । सुवालले हालै मानार्थ विद्या वारिधी उपाधि पाएका छन्।यस्तै शुभकामनाले विद्यावारिधी गर्ने सदस्यहरुलाई पनि सम्मान गरेको छ । उक्त सम्मान पाउनेहरुमा डा. मुनलक्ष्मी त्वायना र डा. सुन्दर हेगोंजु रहेका छन । त्वायनाले युनिभर्सिटी अफ नर्थ टेक्सासबाट वायोकेमेष्ट्री मोलेकुलर वायोलोजी र हेगोंजुले फ्रेण्डरिच स्केलर युनिभर्सिटी जेनाबाट बायोलोजिकल साईन्समा विद्यावारिधि गरेका हुन्।यस्तै हाडजोनी तथा नशा रोगमा एमडी गरेका डा. सरोज कुमार सुवाल, टेबुलटेनिसका राष्ट्रिय खेलाडी नर्मदा खाईतु, नियमति वचतकर्ता पुरुषतर्फ देवराज जोशीर महिलातर्फ शिला बासुकला, दैनिक वचतकर्ता रमेश ख्याजु, असल ऋणी पुरुषतर्फ सुवर्ण मानन्धर, महिलातर्फ तेजमाया भंडेल र कक्षा ८, एसईई २०८० र कक्षा ११ एवम् १२ को परीक्षामा उत्कृष्ट अंक हासिल गर्ने विद्यार्थीहरुलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष रामप्रसाद कासुलाले दिगो सहकारीलाई आत्मसाथ गर्दै सहकारी शिक्षा तथा वित्तीय साक्षरताको कार्यक्रमलाई विशेष जोड दिँदैं आइरहेको बताए । समुदायमा आधारित भएर सञ्चालन भएकै कारण शुभकामनाले सदस्यहरुको विश्वास जित्न सफल भएको उनले बताए।
अध्यक्षमा पुनः कासुला
संस्थाको सञ्चालक समिति आगामी चार वर्षका लागि अध्यक्षमा पुनः रामप्रसाद कासुला सर्वसम्मत चयन भएका छन् । संस्थाको उपाध्यक्षमा निर्मला सुवाल, सचिवमा पुष्पलाल तिमिला र कोषाध्यक्षमा धर्मदिप बज्राचार्य पनि सर्वसम्मत चयन भएका छन । यसैगरी सञ्चालक समिति सदस्यहरुमा सिर्जना कोजु सुवाल, पुण्यश्वरी सुवाल, शिवलक्ष्मी बासुकला, नुतनदेवी श्रेष्ठ, रामबहादुर कासुला, गणेशराम कोजु, गणेश प्रधान, नरेश बासुकला र नारायण बहादुर बासुकला चयन भएका छन् भने लेखा सुपरिवेक्षण समितिको संयोजकमा कृष्णप्रसाद नापित, सदस्यहरुमा विष्णुभक्त कवाँ र गायत्री मैयाँ कोजु सर्वसम्मत चयन भएका छन् ।