जापानिज इन्सेप्लाइटिसको मृत्युदरमा वृद्धि
काठमाडौं । जापानिज इन्सेप्लाइटिसबाट नेपालमा १४ जनाको मृत्यु भएको छ । जनवरीयता ६१ जनामा उक्त संक्रमण देखिएको छ । पछिल्ला तीन महिनामा १४ जनाको मृत्यु हुनुले जनस्वास्थ्य चुनौती बढेको छ । विशेष गरी तराई भेगका बालबालिका जापानिज इन्सेप्लाइटिसको उच्च जोखिममा रहेका स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाले जनाएको छ । महाशाखाका खोप शाखा प्रमुख डा. अभियान गौतमले यसबाट तराई क्षेत्रका नागरिक उच्च जोखिममा रहेका बताए । हाल संक्रमित र ज्यान गुमाउनेमा पूर्वी झापादेखि, चितवन हुँदै कैलाली, कञ्चनपुरलगायत तराई जिल्लाका मानिस छन् । यसबाट अधिकांश नौदेखि १५ वर्षसम्मका बालबालिका र ६० उमेरमाथिका ज्येष्ठ नागरिकको मृत्यु भएको छ । तराई बेल्टका नागरिकमा अझै जोखिम देखिएको छ, विशेष गरी १५ वर्षसम्मका बालबालिकामा । नेपालमा सन् २००० को एक दशकमा उच्च रूपमा फैलिएको जापानिज इन्सेप्लाइटिस त्यसयता पनि वर्षैपिच्छे देखिइरहेको छ । कोरोनाकालमा संक्रमितको संख्या ३० भन्दा कम थियो । सन् २०२२ मा ७९ जनामा संक्रमण पुष्टि भएको थियो । उक्त वर्ष यसबाट कसैको पनि मृत्यु भएको थिएन । २०२३ मा १०७ संक्रमित र सातजनाको मृत्यु भएको खोप शाखाको तथ्यांक छ । यो वर्ष ६१ संक्रमित हुँदा १४ जनाको मृत्यु हुनु चुनौतीपूर्ण तथ्यांक भएको डा. गौतम बताउँछन् । संक्रमितहरूमा कडा म्यानेन्जाइटिसका लक्षण देखिएका छन् । कतिपय सिकिस्त बिरामीलाई भेन्टिलेटरमा पनि राखेर उपचार गरिएको छ । जापानिज इन्सेप्लाइटिसको मृत्युदर ३० प्रतिशतसम्म रहेको वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले जानकारी दिए ।
डब्ल्यूएचाओका अनुसार यसको मृत्युदर अधिकतम ३० हो । २५० जना संक्रमित हुँदा एकजनामा मात्रै कडा लक्षण देखिन्छ । त्यसैले समुदायस्तरमा अझै धेरै संक्रमित हुन सक्ने आकलन गर्न सकिन्छ । यो वर्ष देशभरका संक्रमित ६१ मध्ये काठमाडौंका दुईजना छन् । विदेशबाट आएका दुईजनामा जापानिज इन्सेप्लाइटिस देखिएको डा। गौतमले जानकारी दिए । उनीहरूको स्वास्थ्य अवस्था सामान्य छ । जापानिज इन्सेप्लाइटिस देखिने मुख्य सिजन लामखुट्टेको वृद्धि विकास हुने महिनाहरू नै हो । डा। गौतमका अनुसार, जुलाईदेखि अक्टोबरसम्म यसको उच्च जोखिम रहन्छ । गएका वर्षहरूको रेकर्ड हेर्दा अगस्टमा यो संक्रमण उच्च हुन्छ । यस हिसाबले अगस्टभर संक्रमणको जोखिम रहन्छ । यसको कुनै औषधि वा उपचार छैन ।
रोकथामको मुख्य उपाय भनेको जापानिज इन्सेप्लाइटिसविरुद्धको खोप हो । नेपाल सरकारले नियमित तालिकामा राखेर यसविरुद्धको खोप दिँदै आएको छ । तर, पछिल्लो समय संक्रमित र मृत्यु भएकामा खोप नलगाएको पाइएको डा. गौतमले बताए । कोरोनाकालमा खोप छुटेकाहरूमा पनि सिकिस्त संक्रमण देखिएको उनले जानकारी दिए । खोप लगाएको एक महिनापछि मात्र यसको प्रभावकारिता सुरु हुन्छ । हाल नेपालमा खोपको ‘कभरेज’ ९९ प्रतिशत रहेको डा. गौतमले बताए । लामखुट्टेको टोकाइबाट बच्नु नै यसको संक्रमणबाट जोगिने पहिलो उपाय हो । त्यसका निम्ति भेटेनरी, कृषि र स्वास्थ्य क्षेत्रले ‘वान हेल्थ एप्रोच’मा प्रतिकार्य गरिरहेको डा. गौतमको भनाइ छ । हाल संक्रमण फैलिनु र सिकिस्त बिरामी देखिनुमा खोप छुट्नु नै मुख्य कारण हुन सक्ने डा. पुन बताउँछन् । भाइरसले आफ्नो स्वरूप परिवर्तन गरेका कारण पनि लक्षण देखिएको हुन सक्ने र यसबारे अध्ययन गरिनुपर्नेमा डा. पुन जोड दिन्छन् ।