पूर्वराष्ट्रपति ट्रम्पमाथि फेरि आक्रमण प्रयास
काठमाडौँ । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि पुनः एक पटक आक्रमण प्रयास भएको छ । अमेरिकी गुप्तचर संस्था एफबीआईका अनुसार फ्लोरिडाको गल्फ कोर्समा ट्रम्पमाथि आक्रमण प्रयास भएको हो । रिपब्लिकन पार्टीका नेताहरूका अनुसार ट्रम्प पूर्ण रूपमा सुरक्षित रहेको बताएका छन् । अधिकारीहरूका अनुसार गल्फ कोर्सको झाडीबाट एक जनाले एके ४७ राइफल ताक्दै गरेको देखेपछि अमेरिकी सिक्रेट सर्भिसका एजेन्टहरूले सन्दिग्ध व्यक्तिमाथि गोली हानेका थिए ।
ती सन्दिग्ध व्यक्तिलाई प्रहरीले पक्राउ गरिसकेको छ । र्यान वेस्ले राउथ नाम गरेका थी व्यक्ति युक्रेनी समर्थक रहेको र सामाजिक सञ्जालमा षड्यन्त्रकारी पोस्टसमेत गरेको पाइएको छ । एफबीआईका अनुसार ती व्यक्ति लुकेको ठाउँबाट पूर्वराष्ट्रपति ट्रम्प २७५ देखि ४५५ मिटरको दूरीमा थिए । प्रत्यक्षदर्शीहरूका अनुसार सिक्रेट सर्भिसका एजेन्टले केही राउन्ड फायरिङ गरेपछि सन्दिग्ध व्यक्ति झाडीबाट बाहिर निस्केर कारमा चढेका थिए । पछि सुरक्षाकर्मीले कारलाई मार्टिन काउन्टीमा रोकेर उनलाई हिरासतमा लिएका हुन् ।
घटनापछि ट्रम्पले भनेका छन्, मेरो गतिलाई कसैले रोक्न सक्ने छैन । म कहिल्यै हार मान्दिनँ । अमेरिकी राष्ट्रपति जो बाइडनले अमेरिकामा राजनीतिक वा अन्य कुनै हिंसालाई स्थान नभएको प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्, मैले पहिले पनि धेरै पटक भनेको छु अमेरिकामा राजनीतिक वा अन्य कुनै प्रकारका हिंसालाई स्थान छैन । त्यस्तै उपराष्ट्रपति तथा डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति पदकी प्रत्याशी कमला ह्यारिसले समेत अमेरिकामा हिंसालाई कुनै स्थान नभएको बताएकी छिन् । यसअघि गत जुलाई १४ मा पेन्सिलभेनियामा चुनावी कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ट्रम्पमाथि गोली प्रहार भएको थियो । गोली प्रहारबाट उनको कानमा सामान्य चोट लागेको थियो । उक्त घटनालाई ट्रम्पको हत्या प्रयासका रूपमा हेरिएको थियो ।