बैंक खाता रोक्का र फुकुवा यसरी हुनेछ
काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न कारणले खाता रोक्का गर्नुपर्ने स्थितिमा रहेको अस्पष्टतालाई चिरेको छ । केन्द्रीय बैंकले बैंक खाता रोक्का तथा फुकुवा सम्बन्धि विनियमावली, २०८१ जारी गर्दै बैंक खाता रोक्का राख्न तथा रोक्का रहेका बैंक खाता फुकुवा गर्ने सम्बन्धि व्यवस्थालाई थप स्पष्ट, पारदर्शी र व्यवस्थित बनाउने भएको हो । राष्ट्र बैंकको व्यवस्थाअनुसार कसुर गर्ने व्यक्तिको खाता ३ प्रकारले रोक्का हुन सक्नेछ । प्रचलित कानून बमोजिम नेपाल सरकार वादी हुने फौजदारी कसूर गरेको व्यक्ति वा संस्थाको सम्पूर्ण खाता वा निश्चित खाता वा खातामा रहेको निश्चित रकममात्र रोक्का गर्न सकिनेछ । खाता रोक्का गर्न व्यहोरा खुलाई राष्ट्र बैंक समक्ष लिखित अनुरोध गरेको स्थितिमा केन्द्रीय बैंकले सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई खाता रोक्का वा फुकुवा गर्न निर्देशन दिनेछ । यस्तो निवेदन अधिकारप्राप्त अधिकारीले दिन सक्नेछ । निवेदन दिँदा कारणसहित परिचय खुल्ने आधिकारिक विवरणसमेत सामेल गर्नुपर्नेछ ।
यसैगरी निश्चित खाता रोक्का गर्नुपर्ने हुँदा खाता नम्बर र बैंकको विवरण तथा आंशिक खाता रोक्का गर्न रकमसमेत उल्लेख गर्नुपर्छ । फुकुवा गर्न भने अधिकारप्राप्त अधिकारीले दिएको निवेदन वा अदातलको आदेश बमोजिम हुनेछ । खाता रोक्का गर्ने अधिकार राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागलाई हुनेछ । विभाग प्रमुखले तोकेको अधिकृतस्तरका कर्मचारीले सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई खाता रोक्का गर्न निर्देशन दिनुपर्छ । र, सोही निर्देशनबमोजिम बैंकले प्राकृतिक व्यक्ति वा कम्पनीको बैंक खाता रोक्का गर्नुपर्नेछ ।
राष्ट्र बैंकको व्यवस्था अनुसार ३ प्रकारको खाता रोक्काः
१. सम्पूर्ण खाता रोक्काः बैंक तथा वित्तीय संस्थाहरुमा खोलिएका जुनसुकै खाताबाट रकम झिक्न वा कुनै माध्यमले कोही कसैलाई भुक्तानी दिन नसक्ने गरी गरिएको खाता रोक्का
२. निश्चित खाता रोक्काः बैंक तथा वित्तीय संस्थामा खोलिएका निश्चित खाताबाट रकम झिक्न वा कुनै माध्यमले कोही कसैलाई भुक्तानी दिन नसक्ने गरी गरिएको खाता रोक्का
३. आंशिक खाता रोक्काः बैंक तथा वित्तीयमा रहेको खातामा रहेको रकममध्ये निश्चित रकममात्र रोक्का रहने र खातावालाले बाँकी रकम यथावतरुपमा प्रयोग गर्न सक्ने गरी गरिएको खाता रोक्का