सहकारीका दोषीलाई सजाय दिलाउन सिफारिस गरिएको छ : सभापति थापा
काठमाडौँ । संसदीय छानबिन विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले पार्टीभन्दा माथि उठेर सहकारी छानबिन गरी प्रतिवेदन बुझाउन लागिएको बताएका छन् ।
आज (सोमवार) समितिको ६६ औं बैठक सम्पन्न गरी सञ्चारकर्मीहरूसँग कुरागर्दै सभापति थापाले दलभन्दा माथि उठेर छानबिनमा दोषी पाइएकाहरूलाई कारबाहीको सिफारिस गरिएको बताएका हुन् । उनले समितिमा सबै राजनीतिक दलहरूबाट प्रतिनिधित्व भएको तर पनि सहकारीका वर्तमान समस्यालाई पहिलो प्राथमिकता राखेर प्रतिवेदन सर्वसहमतिले पास गरेको दाबी गरे । उनले समितिले साढे तीन महिना अध्ययन र छलफलपछि तयार पारेको प्रतिवेदनमा सबैले हस्ताक्षर गरेर प्रतिनिधि सभामा पेस गर्न लागेको बताए ।
उनले ६६ वटा बैठक र गहन अध्ययन गरेर तथ्य केलाएर प्रतिवेदन तयार पारिएको पनि उल्लेख गरे । उनले समितिको प्रतिवेदनले दोषीलाई अपराधको भागी बनाउन सिफारिस गरिएको पनि उल्लेख गरे । समितिको प्रतिवेदनमा सबै सदस्यहरूले हस्ताक्षर गरेका छन् ।