ब्याटिङ नचल्दा क्यानडासँग नेपाल पराजित
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलाको पहिलो खेलमा ब्याटिङ चल्न नसक्दा नेपालले हार व्यहोरेको छ । सोमबार राति क्यानडाको किंग सिटीमा भएको खेलमा नेपाललाई घरेलु टिम क्यानडाले १०३ रनले पराजित गरेको हो । खेलमा क्यानडाले प्रस्तुत गरेको २५४ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ४०।१ ओभरमा १५० रनमै समेटियो । क्यानडाविरुद्ध नेपालका कुनै पनि ब्याटरको प्रदर्शन उल्लेखनीय रहेन । नेपाली टिमको स्कोरबोर्डमा करण केसीले सर्वाधिक २७ रन थपे । सन्दीप लामिछानेले २२, आसिफ सेखले २०, भीम सार्कीले १८ र गुल्सन झो १५ रन थपे । यस्तै, कुशल मल्लले १२ रन थपे । नेपाललाई सस्तैमा समेट्न क्यानडाका डिलोन हेलिगरले पाँच विकेट लिए । १० ओभर बलिङ गरेका हेलिगरले नेपालका कुशल भुर्तेल, आसिफ सेख, रोहितकुमार पौडेल, सन्दीप लामिछाने र गुल्सन झालाई पभेलियनको दिशा देखाए । उनले ३१ रनमात्र खर्चिए । त्यसअघि टस हारेर ब्याटिङमा आएको क्यानडाले कप्तान निकोलस किर्टोनको आक्रामक ब्याटिङमा २५३ रनको योगफल खडा गरेको थियो ।
इनिङको सुरुआत सुस्त गरे पनि कप्तान किर्टोनले ४४ बलमा तीन चौका र ६ छक्कासहित ७३ रन बनाएपछि क्यानडा बलियो योगफलसम्म पुगेको हो । ओपनर नवनित धलिवालले ४८ रन थपे । हेलिगरले ३० रन थप्दा हर्ष थाकेरले २७ जोडे । साद बिन जफर र पर्गत सिंहले समान १७ रन थपे । कलिम साना र आरोन जोन्सनको नाममा समान १० रन रह्यो । नेपालका करण केसी र ललितनारायण राजवंशीले समान दुई विकेट लिए । सन्दीप लामिछाने, गुल्सन झा र रोहित पौडेलले एक–एक विकेट हात पारे । लिग–२ मा पाँचौं खेल खेलेको नेपालको यो चौथो हार हो । यसअघि नेपालले घरेलु मैदानमै भएका चार खेलमध्ये तीन खेलमा हार व्यहोरेको थियो । जितसँगै नौ खेलबाट १० अंक जोडेको क्यानडा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पाँच खेल खेल्दा दुई अंकमात्र जोडेको नेपाल तालिकाको सातौँ स्थानमा छ ।