यस्ता दूषित तत्त्वबाट पार्टीलाई मुक्त बनाऔँ : खनाल
काठमाण्डौं । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव मेटमणि चौधरीले कालापानी तथा लिपुलेकका विषयमा दिएको अभिव्यक्तिले उक्त पार्टीमा तरङ्ग सिर्जना भएको छ । यो अभिव्यक्तिलाई लिएर महासचिव घनश्याम भुसालले उपमहासचिव चौधरीलाई स्पष्टीकरण सोधेका थिए । चौधरीले त्यसको जवाफ पनि दिइसकेका छन् । तर, यो विषयले एकीकृत समाजवादीका सँगै राष्ट्रिय राजनीति पनि तातेको छ ।
यो विषय सोमबारको प्रतिनिधिसभा बैठकमा पनि उठेको छ । उता नेकपा एसका सम्मानित नेता झलनाथ खनालले चौधरीको अभिव्यक्ति घोर राष्ट्रियताविरोधी रहेको टिप्पणी गरेका छन् । उनले चौधरीमाथि कारबाहीको माग गरेका छन् । आफूले चौधरीले टेलिभिजनमा दिएको अन्तरवार्ता सुनेको उल्लेख गर्दै खनालले भारतीय नागरिक बोलिरहेको कि नेपाली ? भन्दै प्रश्न गरेका छन् । खनालले चौधरीलाई लक्षित गर्दै दूषित तत्त्व भएको टिप्पणी गरेका छन् । यस्ता तत्त्वबाट पार्टीलाई मुक्त बनाउनुपर्ने खनालको भनाइ छ ।