शुक्रबारदेखि काठमाडौँमा ‘दोस्रो राष्ट्रिय चलचित्र कन्फरेन्स’

काठमाडौँ । मानव अधिकार चलचित्र केन्द्रको आयोजनामा दुई दिने दोस्रो राष्ट्रिय चलचित्र कन्फरेन्स आयोजना हुने भएको छ । असोज ४ र ५ गते ( शुक्रबार र शनिबार) राष्ट्रिय समाचार समिति (रासस)को सभाहल भद्रकालीमा हुने कन्फरेन्समा ८ वटा कार्यपत्र प्रस्तुति, दुईवटा प्यानल छलफल, एउटा किनोट स्पिच र अनुभव सेयरिङ हुनेछ । नेपालमा चलचित्र क्षेत्रको समग्र विकासका लागि कन्फरेन्स र चलचित्र महोत्सव एक महत्त्वपूर्ण माध्यम बन्न सक्छ । चलचित्र क्षेत्र आमरुपमा सूचनाको स्रोत मात्र नभएर यसले संस्कृति, रीतिरिवाज, मौलिक मुल्य मान्यता र पहिचानलाई नेपाली दर्शकमा मात्र नभएर अन्तर्राष्ट्रिय क्षेत्रमा स्थापित गर्न समेत मद्दत गर्छ । चलचित्रलाई लिएर वौद्धिकतहमा अझै सशक्तढंगले प्राज्ञिक बहस, छलफल तथा अन्तर्क्रिया हुन सकिरहेको छैन ।

यस सन्दर्भमा वौद्धिक तह खासगरी अनुसन्धानकर्ता, पत्रकार, स्कुल, राजनीतिज्ञ, अभियन्ता, चलचित्रकर्मीहरूको बीचमा निरन्तर रूपमा प्राज्ञिक बहस हुनु जरुरी छ । कतिपय विदेशी देशहरूले आफ्नो देशको चलचित्र क्षेत्रलाई अन्तर्राष्ट्रिय जगतमा आफ्नो देशको संस्कृति र कलालाई पुर्र्याइरहेका छन् । चलचित्र क्षेत्र कार्यरत विभिन्न सरकारी तथा अन्य संस्थाको सहकार्यमा हुने कन्फरेन्समा निर्जला अधिकारी, एलिना छन्त्याल, अनुप सुवेदी, अरुणदेव जोशी लगाएको प्यानल डिस्कस रहेको छ । कार्यक्रममा नवनिधि दाहालको ‘पाठ्यक्रम अवलोकनः त्रिविको विएइन फिल्म स्टडिज’, डब्बु क्षेत्रीको ‘नेपालमा चलचित्र पत्रकारिता विगत देखि वर्तमानसम्म’ र मनोज पण्डितको ‘पटकथाको दार्शनिक आयाम’ कार्यपत्रहरु प्रस्तुत हुनेछन् । सोही अवसरमा फिल्म निर्देशक दिपेन्द्र गौचन, तुलसी घिमिरेको अनुभव सुन्न सकिनेछ । दुई दिनसम्म चल्ने कन्फरेन्समा नेपाली चलचित्रकर्मी, प्राज्ञिक, अध्येता, पत्रकार तथा अन्य गरी ५०० जना भन्दा बढीको सहभागिता रहने कन्फरेन्सका संयोजक डा. सचिन घिमिरे बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *