सबै प्रमाण र तथ्य हुँदा समेत कारबाही गर्न बहुमतका कारण नसक्ने अवस्था रहेको छ : पोखरेल

काठमाडौं । शनिबार नेपाल निर्माण व्यवसायी महासंघले आयोजना गरेको बेरुजु फर्छ्योटसम्बन्धी कार्यशाला गोष्ठीमा प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले मुलुकमा बेइमानहरू बढ्दै गएको बताएका छन् । सबै प्रमाण र तथ्य हुँदा समेत कारबाही गर्न बहुमतका कारण नसक्ने अवस्था रहेको उनले उल्लेख गरे । उनले टेलिभिजनमा क्रान्तिकारी कुरा गर्ने र भित्र गएर ‘निर्णय गरिस् भने तेरो व्यवस्था गर्छु’ भन्ने चेतावनी दिने गरिएको सुनाए । अहिले मुलुकमा बेइमानहरूको बहुमत भएको छ । प्रमाण छ, कागज छन्, कानुन छ । स्पष्ट छ । टेलिभिजनमा क्रान्तिकारी कुरा गर्छ र भित्र गएर निर्णय गरिस् भने तेरो व्यवस्था गर्छु भन्छ ।

बेरुजु राख्ने सरकारी निकायका जिम्मेवार अधिकारीको घरखेतबाट त्यो असुलउपर गर्नुपर्ने उनको भनाइ थियो । बेरुजु राख्ने जिम्मेवार अधिकारीको घरखेतबाट बेरुजु असुलउपर गर्नुपर्छ । मेरो बुझाइ फरक छ । यो ठाउँमा पुग्नुपर्छ भन्ने हो । उनले सबै काम संस्थाको अधिकारप्राप्त व्यक्तिले गर्ने अनि बेरुजु आएपछि निर्माण व्यवसायीको ठाउकामा राखिदिएर देशको सुधार गर्न नसकिने बताए । कुनै एकजना मन्त्रालयको महानिर्देशकले टेन्डर गर्छ, ठेक्का लगाउँछ । तर, सूचना निकाल्ने, टेन्डर स्वीकृत गर्ने, मूल्यांकन गर्ने, कामको रेखदेख गर्ने, मूल्यांकन गरेर प्रतिवेदन बनाउने, स्वीकृत गर्ने, चेक काट्ने आफैँ अनि बेरुजु निर्माण व्यवसायीको कसरी हुन्छ ? यो बेइमानी हो । देश सुधार गर्ने हो भने जसका नाममा चेक काटेको छ, त्यसको नाममा बेरुजु हुनुपर्छ । यो हिसाबबाट मुलुक नबदल्ने हो भने, परम्परागत रूपमा बस्ने हो भने केही पनि गर्न सकिँदैन ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *