काठमाडौं म्याराथनको १६ औं संस्करण असोज १२ गते हुने
काठमाडौं । काठमाडौं म्याराथनको १६ औं संस्करण यही असोज १२ गते हुने भएको छ । यसमा १६ देशका ६६ अन्तर्राष्ट्रिय धावकसँगै कुल ३ हजारभन्दा बढीको सहभागिता रहनेछ । म्याराथनमा १ सय ७० जनाले सहभागिताका लागि नाम दर्ता गरिसकेका छन् । त्यस्तै हाफ म्याराथनका लागि ५ सय ५० ले नाम दर्ता गराएका छन् । सरकारी र निजी गरेर ६० भन्दा बढी विद्यालयका छात्रछात्राले पाँच किलोमिटर दौड र तीन किलोमिटर खुल्ला दौडमा सहभागिता जनाउने छन् । फेमिली रनमा १९ परिवारको सहभागिता रहनेछ । दौडमा चार सय भन्दा बढी स्वंयसेवक तथा टेक्निकल अफिसियलको सहभागिता रहनेछ । काठमाडौं म्याराथनका मुख्य आयोजक निलेन्द्रराज श्रेष्ठले दौडका बेला ट्राफिक व्यवस्थापन सबैभन्दा ठूलो चुनौती रहेको बताए । उनले दौडका बेला ट्राफिक व्यवस्थापनका लागि सम्बन्धित निकायसँग छलफल भइरहेको पनि बनाए । उनका अनुसार दौडका लागि बाटोको एक भागलाई बन्द गर्ने तथा धावक,धाविकको पूर्ण सुरक्षा र दुर्घटना न्यूनीकरणका लागि सबै प्रयास गरिने बताए । उनले भने, ‘मलाई पूरा विश्वास छ, ट्राफिक व्यवस्थापन निकायले दौडका बेला चाहिने सबै जिम्मेवारी गम्भीर भएर पूरा गर्नेछ र खेल सहरका रूपमा काठमाडौंको छवि कायम राख्न मद्दत पुग्नेछ ।
म्याराथन र हाफ म्याराथनको दौड त्रिपुरेश्वरबाट बिहान ठीक ५ः१० बजे सुरु हुनेछ । आयोजकले दौडका बेला प्रयोग हुने रुटमा त्यस दिन पाँच घण्टाका लागि सकेसम्म सवारी साधन नचलाइदिन पनि चालकलाई अनुुरोध गरेको छ । उनले सटिक ट्राफिक व्यवस्थापनले खेलाडीलाई मात्र सजिलो हुने नभएर शहरको छवि ब्रान्डिङ तथा पर्यटन विकासमा पनि सहयोग पुग्ने विश्वास व्यक्त गरे । म्याराथन र हाफ म्याराथन दौडमा इलेक्ट्रिक टाइमिङ प्रयोग हुनेछ । यसले धावक,धाविकालाई अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा छनोटका लागि पनि सहयोग पुग्नेछ । हाफ म्याराथनमा पहिलो पटक पेसर्सको पनि प्रयोग गरिनेछ । यसका लागि बंगलादेश र भारतबाट विज्ञहरू नेपाल आइपुगिसकेका छन् । प्रमुख आयोजक श्रेष्ठले दौडका क्रममा सहभागी हुनेलाई प्रोत्साहन गर्न सबै काठमाडौंबासीलाई सडकमा उत्रेर हौसला प्रदान गर्न पनि आह्वान गरेका छन् । उनले भने, ‘यो दौडको सफल आयोजनाका लागि सबैको सहयोग आवश्यक छ । खेलकुदको माध्यमबाट पर्यटन प्रवद्र्धनका लागि हामीले सकारात्मक सन्देश पनि दिन सक्छौं । काठमाडौंं म्याराथनको सुरुआत सन् २००७ मा भएको थियो ।