पाँच तारा सहकारीद्वारा उत्प्रेरणात्मक कार्यक्रम आयोजना

काठमाडौ । पाँच तारा बचत तथा ऋण सहकारी संस्थाले सञ्चालक समिति तथा उप–समितिहरुलाई लक्षित गरी उत्प्रेरणात्मक कार्यक्रम आयोेजना गरेको छ । संस्थाका अध्यक्ष भोलानाथ पाठकको अध्यक्षतामा भएको कार्यक्रममा नेफ्स्कुनका सहायक कार्यकारी अधिकृत सञ्जयराज तिमल्सिनाले सहजिकरण गरेका थिए । उनले सञ्चालक समिति र उपसमितिको संस्थाप्रतिको काम, कर्तव्य र अधिकारीका विषयमा प्रस्तुतीकरण गरेका थिए । सहकारीका सञ्चालकहरु नायक जस्तै भएकाले सदस्यहरुलाई प्रभाव पार्न पहिलो आफुनै नै अभिप्रेरित हुनुपर्ने उनले बताए । आफु संस्थामा आवद्ध भएपछि विभिन्न बहानाबाजी गरेर जिम्मेवारीबाट पञ्छिने भन्दा पनि जिम्मेवारी बहन गर्न अग्रसर भएर लाग्नुपर्ने उनको जोड थियो ।

पैसालाई फजुल खर्च नगरी ससानो रकम बचतको माध्यमबाट भविष्यका लागि पुँजी निर्माण गर्न सकिने उनको भनाई छ । नियमित बचत नै सहकारीको आधार भएकाले सबैले नियमित बचत गर्नुपर्नेमा उनको जोड थियो । सदस्यले सहकारीमा आबद्ध भएपछि पालना गर्नु पर्ने नियम, वर्तमान समयमा सहकारीप्रति फैलिरहेको अफवाह र सहकारी इतिहासका साथै सहकारी के हो भन्ने बिषयमा समेत उनले प्रष्ट पारेका थिए । अध्यक्ष भोलानाथ पाठकले पाँच तारा सहकारी संस्था स्थापनाको उदेश्य माथी प्रकाश पारेका थिए । अध्यक्ष पाठकले यस क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको कुनै पनि शाखा नरहेको र स्थानीयहरु वित्तीय सेवा लिन कोठेश्वर काटेर जानुपर्ने बाध्यतालाई मध्यनजर गरी संस्था सुरु गरेको बताए ।

संस्था स्थापनाकालदेखि नै समुदाय र सदस्य केन्द्रीत रहेर वित्तीय कारोबार गर्दै आएकाले पछिल्लो समय सहकारी क्षेत्रमा आएको विषम परिस्थितिमा समेत सदस्यले विश्वास गरेर निरन्तर कारोबार गर्दै आएको उनले जनाए । सहकारी सदस्यका लागि भएकाले पाँच ताराले सदस्यलाई पहिलो प्राथमिकतामा राखेर वित्तीय तथा अन्य क्रियाकलाप गर्ने गरेको पाठकको भनाई छ । संस्था सदस्यसँग नजिक रहेको भन्दै उनले उमेर समुह अनुसार संस्थाले विभिन्न गतिविधि गर्ने गरेको जानकारी दिए । संस्था बचत तथा ऋणमा मात्रै केन्द्रीत नभई सामाजिक कार्यमा पनि उतिकै सक्रिय रहेको र रक्तदान,सहकारी शिक्षा, स्थानीय मठ मन्दिर तथा सार्वजनिक सम्पत्तिको जर्गेनामा समेत महत्वपूर्ण भूमिका खेल्दै आएको सो अवसरमा उनले बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *