मध्य भोटेकोशी एक महिनाभित्र सञ्चालनमा ल्याइने

काठमाण्डौं । मध्य भोटेकोशी जलविद्युत आयोजना एक महिनाभित्र सञ्चालनमा आउने भएको छ। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोशी जलविद्युतबाट एक महिनाभित्र विद्युत उत्पादन गर्ने गरी अन्तिम चरणका कामहरू भइरहेको आयोजनाले जनाएको छ। बाह्रबिसे नगरपालिका–५ स्थिति आयोजनाको विद्युत गृहको स्विचयार्डबाट सोही नगरपालिका–३ स्थित प्राधिकरणको बाह्रबिसे सबस्टेसन जोड्ने करिब चार किलोमिटर प्रसारण लाइनमध्ये दुई किलोमिटर लाइन निर्माणमा स्थानीयसँग सहमति जुटेपछि अहिले तार तान्ने काम भइरहेको हो। २२० केभी सिङ्गल सर्किट प्रसारण लाइनको तार तान्ने काम दसैं अगाडि सकिने आयोजनाले जनाएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, राज्यमन्त्री पूर्णबहादुर तामाङ, सिन्धुपाल्चोका–२ का संघीय सांसद मोहनबहादुर बस्नेत, मन्त्रालयका सहसचिव सन्दीपकुमार देव, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, बाह्रबिसे नगरपालिका प्रमुख बालकृष्ण बस्नेत तथा वडाध्यक्षहरू, सहायक प्रमुख जिल्ला अधिकारी, उद्योग वाणिज्य संघका अध्यक्ष र आयोजनाबीच गत भदौ १३ गते भएको छलफलमा करिब १४ महिनादेखि अवरोध रहेको प्रसारण लाइन निर्माणमा सहमति जुटेको थियो। बाँध क्षेत्रको निर्माण सकी पानी हालेर परीक्षण समेत भइसकेको छ। आयोजनाको ७.१२४ किमी मुख्य सुरूङ निर्माण सकेर गत वर्षको फागुनमा पानी भरेर परीक्षण गरिएको थियो। परीक्षणका क्रममा मुख्य सुरूङको करिब एक हजार चार सय मिटर खण्डमा पानी चुहिएपछि त्यसको मर्मत र सुधार गरेको आयोजनाले जनाएको छ। हाल सुरूङ सफाइको काम भइरहेको उल्लेख छ। १५ दिनपछि सुरूङमा पानी भर्न थालिने छ। विद्युत गृहमा सिभिल निर्माण काम सकेर इलेक्ट्रोमेकानिकल उपकरण जडान एवं परीक्षण (ड्राई टेस्ट) भइरहेको छ । सुरूङबाट पानी आउनासाथ उपकरणहरूको वेट टेस्ट सुरू हुनेछ। बाँकी रहेका सम्पूर्ण काम एक महिनाभित्र सकेर विद्युत उत्पादन सुरू गर्ने लक्ष्यका साथ काम भइरहेको उल्लेख गरिएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्ण बहादुर तामाङ, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायत सम्मिलित टोलीले आयोजना निर्माण स्थल निरीक्षण भ्रमण गरी एक महिनाभित्र जसरी पनि विद्युत उत्पादन हुने गरी काम गर्न आयोजना व्यवस्थापन, परामर्शदाता र निर्माण व्यवसायीलाई निर्देशन दिएको छ। राज्यमन्त्री तामाङले बाँकी काम छिटो सक्न र आयोजना व्यवस्थापनका सबै कर्मचारी साइटमै बसेर काम सक्न निर्देशन दिए। यो आयोजनाबाट विद्युत उत्पादन सुरू भएपछि सोही विद्युत प्रयोग गरी प्राधिकरणले निर्माण गरेको बाह्रबिसे सबस्टेसनलाई चार्ज गरिने छ। २२०–१३२ केभीको बाह्रबिसे सबस्टेसन निर्माण सकिइसकेको छ। यो आयोजनाको विद्युत प्रवाहका लागि अस्थायी वैकल्पिक व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ। २०० केभी प्रसारण लाइनबाट बाह्रबिसे सबस्टेसनमा पुगेको विद्युतलाई सोही सबस्टेसनमार्फत १३२ केभीमा झारेर १३२ केभी प्रसारण लाइनबाट प्रवाह गरिने छ। यसका लागि २२ मेगावाटको माथिल्लो चाकु ए जलविद्युत आयोजनाको प्रवर्द्धक कम्पनी शिवश्री हाइड्रोपावरले निर्माण गरेको १३२ केभी प्रसारण लाइनलाई बाह्रबिसे सबस्टेसनमा लैजाने काम कम्पनीले अहिले गरिरहेको छ। उक्त काम दसैंअगाडि सक्ने उल्लेख गरिएको छ। सोही प्रसारण लाइनबाट मध्य भोटेकोसीको विद्युत लामोसाँघु सबस्टेसन हुँदै राष्ट्रिय प्रणालीमा जोडिने छ। अस्थायी वैकल्पिक व्यवस्था खिम्ती–बाह्रबिसे वा बाह्रबिसे–काठमाडौं प्रसारण लाइन नसकिएसम्म रहने छ। उक्त लाइनहरू सकिएपछि सोहीमार्फत् विद्युत प्रवाह हुनेछ। जुरे पहिरो, महाभूकम्प, नेपाल–भारत सीमा नाकामा भएको अवरोध, भोटेकोशी नदीमा आएको बाढी, कोभिड–१९ को प्रकोप, निर्माण व्यवसायीको कमजोर कार्य सम्पादन लगायत कारणले यो आयोजना निर्माण प्रभावित भएको थियो। आयोजनाको अनुमानित लागत कर्मचारी सञ्चय कोषसँग ऋण सम्झौता हुँदा निर्माण अवधिको ब्याज बाहेक १२ अर्ब २८ करोड ३३ लाख रूपैयाँ थियो। आयोजनाको अद्यावधिक अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक १६ अर्ब रूपैयाँ छ। आयोजनाको सुरूको कुल लागतमध्ये ५० प्रतिशत स्वपुजीबाट (इक्विटी) र ५० प्रतिशत ऋणबाट जुटाइएको छ। कम्पनीको जारी पुँजीको ५१ प्रतिशत संस्थापक सेयरधनीहरूमध्ये प्राधिकरणको १०, चिलिमे जलविद्युत कम्पनी लिमिटेडको ३७, सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी लिमिटेडको १, नेपाल अरनिको हाइड्रोपावर कम्पनीको १, सिन्धु इन्भेष्टमेण्ट कम्पनीको १ र सिन्धु भोटेकोशी हाइड्रोपावरको १ प्रतिशत सेयर छ। ४९ प्रतिशत साधारण सेयरधनी समूहमा (कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता कर्मचारीको १९.५, संस्थापक संगठित संस्थाका कर्मचारीको ३.५, ऋणदाता संस्थाका कर्मचारीको १, सिन्धुपाल्चोक बासीको १० र सर्वसाधारणको १५ प्रतिशत सेयर) छ। कम्पनीले साधारण सेयर निस्कासन गरी रकम संकलन गरिसकेको छ। कम्पनीका साधारण लगानीकर्ताहरू १० लाख ७५ हजार छन्। आयोजनाबाट वार्षिक ५४ करोड २२ लाख युनिट विद्युत उत्पादन हुनेछ। प्राधिकरणले आयोजनाको विद्युत हिउँद र वर्षायाममा प्रतियुनिट क्रमशः आठ रूपैयाँ ४० पैसा र चार रूपैया ८० पैसामा किन्नेछ। यसबाट कम्पनीलाई वार्षिक दुई अर्ब ८० करोड रूपैयाँ आम्दानी हुनेछ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *