जलविद्युतमा लगानी गर्न क्यानडाका लगानीकर्तालाई इप्पानको आग्रह

काठमाण्डौं । क्यानेडियन ड्याम एशोसिएशनले आयोजना गरेको ड्याम सुरक्षा सम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले क्यानेडियन लगानीकर्तालाई नेपालको जलविद्युतमा लगानी गर्न आग्रह गरेका छन् । उनले नेपालमा जलविद्युत उत्पादनको अथाह सम्भावना हुँदा हुँदै पनि अहिलेसम्म ३ हजार मेगावाट मात्रै विद्युत उत्पादन भएको, ४ हजार मेगावाट क्षमताका आयोजनाहरु निर्माणाधीन रहेको, विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) भएर वित्तीय व्यवस्थापनको पर्खाइमा रहेका आयोजना पनि ४ हजार मेगावाट क्षमताका रहेको, १० हजार मेगावाटका आयोजना पीपीएको पर्खाइमा रहेको र अरु थप १० हजार मेगावाट क्षमताका आयोजनाहरु अध्ययनको विभिन्न चरणमा रहेको बताए । उनले अगाडि भने, ‘सरकारले आगामी १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहितको रोडम्याप अघि सारेको छ । नेपालको जलविद्युत् उत्पादन क्षमता कम्तिमा ७२ हजार मेगावाट छ ।

यसको लागि नेपालमा ठूलो लगानीको खाँचो रहेकोले क्यानेडियन लगानीकर्ताहरुलाई नेपालमा लगानी गरेर राम्रो प्रतिफल हासिल गर्न आग्रह गर्दछु । नेपालमा विद्युत् उत्पादन गरे बजारको पनि सुनिश्चितता भएको भन्दै उनले भारतमा १० हजार मेगावाट निर्यातको सम्झौता नै भइसकेको र बंगलादेशमा पनि ५ हजार मेगावाट निर्यातको लागि पहल भइरहेको बताए । अहिले भारतमा १ हजार मेगावाट विद्युत निर्यात भइरहेको र बंगलादेशमा ४० मेगावाट निर्यातको लागि सम्झौतामा हस्ताक्षर हुन मात्रै बाँकी रहेको पनि उनले बताए । ४० मेगावाट विद्युत थोरै लागेपनि बंगलादेशको विद्युत् माग पुरा गर्न सन् २०४० सम्म बंगलादेशले नेपालबाट ९ हजार मेगावाट विद्युत आयात गर्नुपर्ने प्रक्षेपण गरेको पनि उनले बताए । भारत र बंगलादेशमा विद्युतको माग जति पनि रहेको र नेपालमा ठूलो परिमाणमा उत्पादनको सम्भावना भएकोले नेपालको जलविद्युतमा गरिएको लगानीले राम्रो प्रतिफल दिने पनि उनले बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *