सर्लाहीमा गोली हानेर श्रीमतीको हत्या

काठमाडौं । सर्लाहीको हरिपुर्वा नगरपालिका ५ मा गोली चल्दा एक महिलाको मृत्यु भएको छ । अर्का एक जना घाइते छन् । गोली हान्ने व्यक्तिको नाम भने प्रहरीले खुलाएको छैन । आज बिहान करिब पौने २ बजेतिर गोली लागेर हरिपुर्वा नगरपालिका ५ की २३ वर्षीया चित्रलेखा यादवको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । प्रहरीका अनुसार गोली लागेर मृतक चित्रलेखाका ससुरा ५४ वर्षीय रामदिनेश राय घाइते छन् । उनलाई वायाँ हातमा गोली लागेको छ । घाइते रायको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ । गोली हानेर फरार भएका व्यक्तिको खोजी भइरहेको डिएसपी श्रेष्ठले बताए । गोली हान्ने व्यक्तिको खोजीका लागि सीमा क्षेत्रमा समेत प्रहरी परिचालन गरिएको छ । डिएसपी श्रेष्ठका अनुसार चित्रलेखाका श्रीमान् एक महिना अघि मात्र कुवेतबाट घर आएका थिए । उनी घर आएदेखि परिवारका सदस्यहरुसँग बेलाबेला झगडा भइरहन्थ्यो । त्यसपछि उनी घरबाट हिँडेका थिए । गएराति एक्कासी एकजना साथीसँग मोटरसाइकलमा आएको र घरमा गोली प्रहारको घटना भएको प्रहरीले जनाएको छ । गोली हान्ने व्यक्ति चित्रलेखाकै श्रीमान् हुन् वा उनले अरु कसैलाई गोली हान्न लगाए भन्नेमा जिल्ला प्रहरी कार्यालयका प्रहरी अधिकृतहरु थप पुष्ट्याइँको प्रयासमा छन् ।

त्यसैले जिल्ला प्रहरी कार्यालयले चित्रलेखाका श्रीमानको नाम गोप्य राखेको जनाएको छ । ‘मोटरसाइकलमा दुई जना व्यक्ति आएका रहेछन् अनि गोली हानेर मोटरसाइकल चढेर भागे,’ डिएसपी श्रेष्ठले अनलाइनखबरसँग भने, ‘घटनामा संलग्न व्यक्तिको पहिचान भइसके पनि पक्राउ नपरिसकेकाले नाम भने सार्वजनिक गरिएको छैन । तर प्रहरी चौकी हरिपुर्वाले भने चित्रलेखाका श्रीमानले नै श्रीमती र बुवालाई गोली हानेर फरार भएको टिपोट सार्वजनिक गरेको छ । घटनाबारे थाहा पाएपछि जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट डिएसपी दीपक श्रेष्ठको नेतृत्वमा २० जनाको टोली आज बिहान घटनास्थल पुगेको थियो । प्रहरीका अनुसार घटनामा सानो हतियारको प्रयोग भएको छ । उक्त हतियारको दुई राउण्ड खोका र एक राउण्ड मिस फायर भएको गोली फेला परेको छ । घटनास्थल हरिपूर्वा प्रहरी चौकीबाट करिब एक किलोमिटर र जिल्ला प्रहरी कार्यालयबाट करिब १४ किलोमिटरको दुरीमा पर्दछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *