नेपाल राष्ट्र बैंकले आजदेखि सुकिला नोट वितरण गरिने
काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैंका लागि भनेर आज असोज १३ गतेदेखि असोज २२ गतेसम्म सुकिला नोट वितरण गर्ने भएको हो । दसैंमा माग हुने साना दरका नोट सटहीको लागि केन्द्रीय बैंकको मुद्रा व्यवस्थापन विभाग, बैंकिङ विभाग र प्रदेशस्थित कार्यालयहरूबाट सुकिला नोट सटहीको व्यवस्था गरेको राष्ट्र बैंकले जनाएको छ । प्रदेश कार्यालय विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीबाट सुकिला नोट सटही गर्न सकिने राष्ट्र बैंकको भनाइ छ ।
साथै, बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट समेत सुकिलो नोट सटही गर्ने व्यवस्था मिलाइएको छ । ५ रुपैयाँ, १० रुपैयाँ, २० रुपैयाँ, ५० रुपैयाँ र १०० रुपैयाँ दरका सुकिला नोट सटही गर्न पाइने छ । कुल १८ हजार ५ सय रुपैयाँको नोटमात्र साट्न पाइने छ । ग्राहकले आफ्नो खाता रहेको बैंक वा पायक पर्ने नजिकको बैंक तथा वित्तीय संस्था वा नेपाल राष्ट्र बैंकमा गई नोट सटही गर्न सक्ने राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ । यसपटक राष्ट्र बैंकले दशैंका लागि भनेर नयाँ नोट भने वितरण नगर्ने भएको हो ।