राष्ट्रसंघको महासभा कुनै भैँसी लिन गएर दूध लिएर आएँ भने जस्तो होइन : प्रधानमन्त्री ओली
काठमाडौं । सोमबार अमेरिका भ्रमणबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको महासभा भैँसी लिन गएर दूध ल्याए जस्तो नभएको टिप्पणी गरेका छन् । राष्ट्रसंघको भ्रमणले के अर्थ राख्छ भन्ने प्रश्नको जवाफका क्रममा उनले त्यस्तो टिप्पणी गरेका हुन् । कुनै भैँसी लिन गएर दूध लिएर आएँ भने जस्तो होइन । हाम्रा समस्या, विचारहरू त्यहाँ राख्न गएको हो, राखियो, प्रधानमन्त्रीले भने ।
विश्वव्यापी समस्यालाई मिलेर समाधान गर्नुपर्छ भन्ने कुरा भएको ओलीले बताए । क्षति पुर्याउने कुरामा हात नभए पनि अल्पविकसित देशले बढी मार भोग्नुपरेकोमा विश्वसमुदायको ध्यान जानुपर्ने धारणा राखिएको उनको भनाइ छ । जसले बढी बिगारेको छ, उसले क्षतिपूर्ति ब्यहोर्नुपर्छ । जसले बिगारेको छ, त्यसले सपार्ने काममा पनि बढी लगानी गर्नुपर्छ भन्ने कुरा राखिएको छ ।