प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा एनआरएनएको सहयोग
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि आज गैह्रआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्ले रु ५१ लाख हस्तान्तरण गरेको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री ओलीलाई सङ्घका अध्यक्ष डा बद्री केसीसहितको प्रतिनिधिमण्डलले उक्त रकम हस्तान्तरण गरेको हो । अध्यक्ष डा केसीले हालैको बाढी, पहिरो र डुबानको खबरले आफूहरु दुःखित हुँदै कोषमा सहयोगका अतिरिक्त प्रभावित क्षेत्रमा रु एक करोड बराबरको राहत उपलब्ध गराउने कार्य भइरहेको जानकारी गराए ।
प्रधानमन्त्री ओलीले विपद्का समयमा मानवीय सहयोग गरेकामा सङ्घलाई धन्यवाद दिँदै एक पटकको नेपाली सँधैको नेपाली हुने भए पनि विदेशको नागरिकता लिएपछि नेपालमा राजनीतिक अधिकार प्रयोग गर्न नमिल्ने स्पष्ट गर्दै दोहोरो नागरिकता समस्याको समाधानका लागि गम्भीर छलफल आवश्यक पर्ने बताए ।
प्रधानमन्त्री ओलीले सङ्घको स्थापनापूर्वदेखि नै नेपालको समृद्धिमा गैह्रआवासीय नेपालीको भूमिकाका लागि आफू लागेको उल्लेख गर्दै कामका लागि विदेश गएकालाई एनआरएनएको परिभाषामा नराख्न आग्रह गरे ।