रतन टाटा र टाटा समूहको इतिवृतान्त
काठमाडौँ । अनाथ आश्रमबाट झिकेर ल्याइएको तथा धनी व्यापारी परिवारको पालन पोषणमा हुर्केको एक जना आजीवन अविवाहित मानिसको आफ्नो ८६ वर्षको उमेरमा निधन भयो । संसारभरका सञ्चारमाध्यमहरूमा खबरहरू आउन थाले । मूल सडकलाई ढाकेर उसको पार्थिव शरीर दिनभर सडकको बिचमा राखियो ताकि आगन्तुकहरू आएर अन्तिम श्रद्धाञ्जली दिन सकुन् । यसैबिच यौटा कुकुरलाई पनि बहुत सतर्कता साथ त्यहाँ ल्याइयो । कुकुरलाई आफ्नो मालिकको अन्तिम बिदाइका लागि ल्याइएको थियो । समग्र भारतभर कुकुरको आगमन समाचार बन्यो । महाराष्ट्र सरकारले राजकीय सम्मानसाथ अन्त्येष्टिको घोषणा मात्र गरेन भारतको राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय समेत गरियो । अक्टोबर १० को दिन राज्य शोकको घोषणा गरियो । भारतका सबैजसो नेताले श्रद्धाञ्जलीका शब्दहरू लेखे । भारतका लागि अमेरिकी राजदूतले त आफ्नो क्याम्पस जीवनसँग सम्बन्धित प्रसङ्ग जोडेर थप श्रद्धा व्यक्त गरे । सिङ्गापुरका विदेशमन्त्रीले भावुक शब्दमा श्रद्धाञ्जली अर्पण गरे । आजको भारतका प्रभावशाली नेता तथा केन्द्रीय सरकारका गृहमन्त्री आफै अन्तिम संस्कारमा मलामीका रूपमा उपस्थित भए । सिङ्गो भारत र भारतसँग आर्थिक–राजनीतिक सम्बन्धमा जोडिएका सबैलाई श्रद्धाञ्जली अर्पण गर्ने ती व्यक्ति सर्वसाधारण नभएर १५६ वर्ष पुरानो व्यापारिक घराना टाटा समूहका पूर्व आधिकारिक प्रमुख र ज्येष्ठ अगुवा रतन नाभाल टाटा थिए । उनको ८६ वर्षको उमेरमा मुम्बईको ब्रिच क्याण्डी अस्पतालमा निधन भयो । टाटा समूह सामान्य क्षेत्रीय वा भारतको मात्रै व्यापारिक समूह नभएर संसारका एक सय भन्दा धेरै देशमा आफ्नो व्यवसाय विस्तार गरेको विशाल समूह हो । यसका उत्पादनको दबदबाबारे बुझ्न हामी धेरै टाढा पुग्नु पर्दैन । नेपालका पहाडमा गुड्ने मोटरदेखि हरेकका हातमा हुने इलेक्ट्रोनिक्स सामान हुँदै सुनदेखि नुनसम्म टाटाको उपस्थिति र वर्चस्व छ । यस्तो समूहका प्रमुखको अन्त्येष्टिमा आएको कुकुर सामान्य कुकुर नभएर उनै रतन टाटाले गोवा जाँदा आफूसँगै हिँडेको देखेपछि सप्रेम पाल्न थालेको ‘गोवा’ नामकै कुकुर हो । जसरी टाटा अनाथालयबाट ल्याइएका थिए त्यसैगरी ‘गोवा’ लाई पनि गोवाको गल्लीबाट ल्याइएको थियो । ’गोवा’ र उसका अन्य साथी कुकुर मुम्बईको आलिशान महल ‘बम्बे हाउस’ मा बस्छन्, जुन टाटा समूहको केन्द्रीय कार्यालय हो । ‘गोवा’ र उसका साथीहरूप्रति रतन टाटाको प्रेमका धेरै किस्सा छन् । एक पटक हालका बेलायती राजा तथा तत्कालीन युवराज चार्ल्स तृतीयले रतन टाटाकै लागि आयोजना गरेको विशेष समारोह कुकुर बिरामी भएकै कारण स्थगित गरेका थिए ।
टाटाको विगत
भारतको प्रतिष्ठित व्यापारीमा दरिएका टाटाहरूको सम्बन्ध आठौँ शताब्दीको इरानसँग जोडिन्छ । प्रख्यात दार्शनिक हेगेलको आफ्नो बहुचर्चित व्याख्यान ‘इतिहासको दर्शन’ मा विश्वात्माको बोधको इतिहासलाई चीनबाट सुरु गरेर इरान, ग्रीक हुँदै हालको जर्मनीमा पुर्याएर इतिहासको अन्त्य हुने घोषणा गरेका छन् । पछि यही अवधारणालाई लिएर शीतयुद्धको अन्त्य पश्चात् अमेरिकी प्राध्यापक फ्रान्सिस फुकोयामाले ‘इतिहासको अन्त्य’ नामको बहुचर्चित लेख लेखे । हेगेलले त्यो अवधारणा निर्माण गर्नका लागि इरानको जरथ्रुष्टवादी धर्म र सात्रका मान्यताको अध्ययन गरेका थिए ।
उक्त पुस्तक तत्कालीन भारतमा फेला पारेका पारसी समुदायबाट लिएर अनुवाद गरिएको थियो । त्यसपछि पश्चिमा जगतले हेरोडोटसले भनेका पारसीलाई उनीहरूको धर्मसहित सकुशल फेला पारे । यी पारसीहरू कुनै समय पश्चिम एसिया मात्र नभएर उत्तरी अफ्रिका, पूर्वी युरोप र भारतीय उपमहाद्वीपसम्म आफ्नो जगजगी कायम गर्न सफल थिए । पश्चिम एसियामा इस्लामको उदय तथा अरबको आक्रमणपछि भूमध्यसागरको राजनीति र धर्मको भूगोलमा कायापलट भयो । धेरै पारसीले इश्लाम धर्म अपनाए, कयौँ मारिए । कयौँ त्यहाँबाट भागेर पूर्वतर्फ बसाई सर्न आए । सुरुमा हालको हर्मुज वरपर आएर बसेका पारसी पुरै पश्चिम एसियाको इस्लामीकरणपछि त्यहाँबाट भागेर भारत आएका थिए । अङ्ग्रेजको उपनिवेशकालमा भारतमा आधुनिक शैक्षिक गतिविधि विस्तार हुन थालेको थियो । यिनै विस्थापित पारसीका सन्तान मध्येका एक गुजरातको पुजारी परिवारका युवा जमसेदजी नुस्सरवानजी टाटा एल्फिन्स्टन कलेज मुम्बईबाट स्नातकमा उत्तीर्ण भए । त्यसपछि आफ्नो पुर्ख्यौली पेसा छोडेर उनी व्यापारमा संलग्न भए । त्यो समय उनी आफ्नो कपडा व्यापारका लागि चीनसम्म पुग्थे । सन् १८६८मा उनले आफ्नै व्यापारिक कम्पनी सुरुवात गरे । अमेरिकामा भएको गृहयुद्धले कपडा उत्पादनमा आएको गिरावटका समय उनले मनग्य मुनाफा कमाए । यहीँबाट सुरु हुन्छ आजको टाटा समूहको व्यापारिक साम्राज्यको कथा । भनिन्छ जमसेदजी टाटाका चार उद्देश्य थिए । फलाम र स्टिल उद्योग खोल्ने, विश्वस्तरीय शैक्षिक संस्था खोल्ने, नयाँ खाल होटेल खोल्ने तथा विद्युत् उत्पादन गृह चलाउने । उनले आफ्नो जीवनकालमा पहिलो उद्देश्य मात्र पुरा गर्न सके । सन् १९०३मा मुम्बईमा होटेल ताज महलको उद्घाटन भयो । त्यसको अर्को वर्ष उनी जर्मनीमा रहँदा बिरामी भएर उतै देह त्याग गरे । त्यसबेलासम्म उनले उभ्याएको व्यापारले भारतभर आफ्ना जरा फैलाई सकेको थियो । र, त्यसको चर्चा भारतदेखि धेरै पर युरोपसम्म हुन थालेको थियो । झारखण्ड राज्यको यौटा सहर जमसेदपुर उनै जमसेदजी टाटाको नाममा राखिएको हो । टाटा स्टिलको उद्योग खुलेपछि व्यापक सहरीकरण भएको उक्त ठाउँको नाम अङ्ग्रेज अधिकारीले राखिदिएका हुन् ।
जमसेदजी पछिको टाटा समूह
जमसेदजी टाटाको निधनपछि यो घरानाको अगुवाइ उनका जेठा छोरा दोराबजी टाटाको काँधमा आयो । उनले यो समूहलाई बेलायतसम्म पुर्याए । स्टिल कम्पनी खोले, पश्चिम भारतकै पहिलो जलविद्युत गृह सञ्चालन गरे । सन् १९११ मा ‘इन्डियन इन्स्टिच्युट अफ साइन्सेज’ खोले । भारतमा उठेको स्वराज आन्दोलनसँग जोडिएर उनले आफ्नो कपडा उद्योगको नामै स्वराज उद्योग राखे । उनी भारतीय उपभोक्ताका लागि बेलायतको म्यानचेस्टरको मिलकै जस्तो उच्च कोटीको कपडा उत्पादन गर्न चाहन्थे । उनैले सन् १९३२मा टाटा एअर सर्भिस स्थापना गरे । तर, भारत स्वतन्त्र भएपछि नेहरु सरकारले त्यसको बहुमत शेयर खरिद गरेर त्यसलाई हालको इन्डियन एयरलाइन्स बनायो । यद्यपि धेरै पछिसम्म जे।आर।डी टाटा त्यसको अध्यक्षको रूपमा कायम रहे । पछिल्लो मोदी सरकारले गरेको निजीकरण पछि पुनः इन्डियन एयरलाइन्स टाटा समूहकै स्वामित्वमा आइपुगेको छ । दोराबजी टाटापछि जे।आर।डी। टाटाले टाटा समूहको कमान सम्हाले । यो समयमा टाटा समूहले टाटा मोटर्सको सुरुवात गरिसकेको थियो । आजको टाटा समूहका अधिकांश आधुनिक संरचना यिनकै कार्यकालमा सुरुवात भएका हुन् ।
रतन टाटा
बिहीबार निधन भएका रतन टाटाको पुरा नाम रतन नाभाल टाटा हो । उनी जमसेदजी टाटाको अलिक परका नातेदारका छोरा हुन् । रतन टाटाको जन्म १९३७मा गुजरातको सुरतमा भएको थियो । रतन टाटा १० वर्षको छँदा उनका आमाबुवाको सम्बन्धविच्छेद भयो । त्यसपछि उनकी हजुरआमा, नवज बाई टाटाले उनलाई औपचारिक रूपमा जेएन पेटिट पारसी अनाथालयबाट अपनाएर घरमा ल्याएकी थिइन् । टाटाले अमेरिकाको कोर्नेल विश्वविद्यालयबाट आर्किटेक्चर पढेका हुन । आफ्नो युवावयबाटै टाटा समूहमा काम थालेका उनी सुरुमा ‘नेसनल रेडियो एन्ड इलेक्ट्रोनिक्स’ लाई सफल बनाएर स्थापित हुँदै गए । जे।आर।डी। टाटासँग नजिक रहेर काम गरेका उनी सन् १९९१ बाट सिङ्गो टाटा समूहकै प्रमुख भए । टाटा समूहको नेतृत्वमा रतन टाटाको आगमन र भारतमा उदारीकरणको सुरुवात एकै वर्षमा भएको थियो । रतन टाटाले नेतृत्व लिँदा १०० अर्ब डलरको व्यापक सञ्जाल रहेको टाटा समूहलाई उनले आफ्नो निधनसम्म आई पुग्दा ४०३ अर्ब अमेरिकी डलरसम्म पुर्याउने गरीको नेतृत्व गरे । आजका दिन टाटा समूहमा १० लाख २८ हजार श्रमिकले काम गर्ने गर्छन् ।नानो कार भनिने एक लाख भारु मूल्यको सानो मोटरकार उत्पादनदेखि विभिन्न कम्पनीलाई टाटा समूहमा विलय गराउने कामको नेतृत्व उनले आफ्नो कार्यकालमा गरे । भारतलगायत विभिन्न मुलुकमा उच्च सम्मान पाएका उनी विविध संघ–संस्थालाई सहयोग गर्नका लागि पनि उत्तिकै चर्चित छन् । उनले आफ्नो कमाईको ठुलो रकम परोपकारी कामका लागि विभिन्न संघ संस्थालाई दिने गरेका छन् । सन २०१६मा रतन टाटाले जिम्मेवारी त्यागेपछि टाटा समूहको नेतृत्व साइरस मिस्त्री नामक टाटा परिवारका नातेदारले गरिरहेका थिए तर उनको कार्यकाल विवादित बनेपछि उनलाई हटाइयो । र, पुनः केही समयका लागि समूहको नेतृत्व रतन टाटाले नै गरे । तर, सन् २०१७ देखि प्रमुखको भूमिकाबाट उनले अवकाश लिएका थिए ।
विवादबिच रतन टाटा
यसबिच भारत र संसारको अर्थतन्त्रमा ठुलै फेरबदल भइरहेको छ । भारत बन्द अर्थतन्त्रबाट नवउदारवादी अर्थतन्त्रमा फेरिएको छ । टाटा समूह भारतीय पुँजीको विश्वव्यापी विस्तारको प्रतिनिधि बनेको छ । भारतमा व्यापार तथा उद्योगको विस्तारमा टाटा समूहले आदिवासी, दलित र गरिबको जीवन, पसिना र रगतको मूल्यमा आफ्नो साम्राज्य खडा गरेको भनी आलोचना हुने गरेको छ । अमेरिकी अदालतले सन् २०१६मा व्यापारिक गोप्य सूचना सम्बन्धी मुद्दामा टाटा समूहलाई ९४ करोड अमेरिकी डलर जरिवाना गरायो । तर, टाटाबारेका विवादास्पद समाचार मूलधारका मिडियामै प्रकाशित गर्नु पूर्व नै व्यवस्थापन गर्ने गरेको आरोप उनीमाथि छ । सन् २००६ मा टाटाले स्टिल उद्योग खोल्नका लागि भारतमा आदिवासीको जमिन कब्जा गरेको खबर आयो । तर, त्यसले कुनै प्रभाव पार्नु अघि नै त्यसको व्यवस्थापन गरियो । त्यति मात्र होइन म्यानमारमा रहेको आफ्नो स्टिल उद्योगलाई फस्टाउनका लागि उनले प्रजातन्त्र विरोधी अर्थात् म्यानमारको तानाशाही जुन्ता सरकारलाई सहयोग गरेको आरोप पनि छ । तर, त्यसबारे पनि उनले विश्वव्यापी आलोचना सहनु परेन । त्यस्तै सन् २००७मा केरेलाको उन्नरमा उद्योग स्थापनाका लागि आमजनताको जग्गा कब्जा गरेको भन्दै ठुलो विरोध प्रदर्शन भयो । यी र यस्ता कयौँ विवादहरू टाटा समूह र लामो समय त्यसको नेतृत्व गरेका रतन टाटाको आलोचना हुने गरेको छ । यी सबैका बाबजुद अब उनी हामी माझ छैनन् तर उनले खडा गरेको व्यापारको साम्राज्य भने हामी माझ अझै अस्थित्वमै छ ।
(एजेन्सीको सहयोगमा)