साफ महिला च्याम्पियनसिपमा भारतद्धारा पाकिस्तान पराजित

काठमाडौं । भारतले साफ महिला च्याम्पियनसिपको पहिलो खेलमा पाकिस्तानविरुद्ध ५–२ को जित निकालेको छ । बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा भारतलाई जित दिलाउन ग्रेस डाङ्मेईले दुई गोल गरिन् । यस्तै, मनिषा, बालादेवी गान्गोम र ज्योती चौहानले गोल गरिन् । पाकिस्तानबाट सुहा हिरानी र कायला मारी सिद्दिकीले गोल फर्काए । खेलको सुरुवातदेखि नै पाकिस्तानी रक्षापंक्तिमाथि दबाब बनाएको भारतले पाँचौँ मिनेटमा नै अग्रता बनाएको थियो । भारतकी ग्रेसले १८ यार्ड बक्सबाट गोल गर्दै प्रतियोगिताको सबैभन्दा सफल टिमलाई अग्रतामा राखेकी हुन् । पहिलो गोल गरेको १२ मिनेटपछि भारतले अग्रता दोब्बर बनायो । १७औँ मिनेटमा पाकिस्तानी रक्षकबाट भएको गल्तीको फाइदा उठाउँदै मनिषाले भारतको अग्रता दोब्बर बनाइन् । ३५औँ मिनेटमा भारतले अग्रतालाई ३–० मा पुर्‍यायो । पाकिस्तानको पेनाल्टी क्षेत्रबाट पाएको इन्डाइरेक्ट फ्री किकलाई सदुपयोग गर्दै बालादेवी गान्गोमले भारतको अग्रतालाई ३–० मा राखिन् । भारतबाट बालादेवीको यो ५०औँ अन्तर्राष्ट्रिय गोल हो । खेलको ४२औँ मिनेटमा भारतले अग्रतालाई ४–० मा पुर्‍यायो ।

भारतका लागि ग्रेसले व्यक्तिगत दोस्रो गोल गरिन् । पहिलाको इन्जुरी समयमा पेनाल्टी पाएपछि पाकिस्तानले गोल फर्कायो । पाकिस्तानकी फरवार्ड नदिया खानलाई भारतीय कप्तान असलता देवीले पेनाल्टी बक्सभित्र लडाएपछि पाकिस्तानले पेनाल्टी पाएको थियो । जसमा चुहाले कुनै गल्ती गरिनन् । पहिलो हाफको तुलनामा सुधारिएको प्रदर्शन गरेको पाकिस्तानले ४७औँ मिनेटमै दोस्रो गोल फर्काएको थियो । पाकिस्तानकी सिद्दिकीले ६ यार्ड बक्सबाट बललाई सहर्ज जालीको दिशा दिएकी हुन् । यसपछि निरन्तर आक्रामण बुने पनि पाकिस्तानले ‘फिनिस’ गर्न भने सकेन । दोस्रो हाफमा पाकिस्तानले गोलका तीन सुन्दर अवसर खेर फालेको थियो । खेलको ७८औँ मिनेटमा ज्योतीले गोल गर्दै भारतको अग्रतालाई ५–३ मा पुर्‍याइन् । जितसहित प्रतियोगिताको सुरुआत गरेको भारत समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ । यस समूहमा भारत र पाकिस्तानसँगै साविक विजेता बंगलादेश छन् । यस्तै, समूह ‘बी’मा साविक उपविजेता नेपालसँगै माल्दिभ्स, श्रीलंका र भुटान छन् । नेपालले आफ्नो पहिलो खेलमा शुक्रबार भुटानसँग खेल्ने छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *