रविविरुद्ध सहकारी ठगीसँगै संगठित अपराधमा पनि अनुसन्धान

काठमाडौं । प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि संगठित अपराध र सहकारी ठगीमा अनुसन्धान गर्न अनुमति पाएको छ । जिल्ला प्रहरी कास्कीले कृष्णबहादुर जैसीसमेतको जाहेरीमा दुईवटा कसुरमा अनुसन्धानका लागि पक्राउ गर्न अनुमति मागेको थियो । जिल्ला अदालत कास्कीका न्यायाधीश कृष्णजंग शाहको इजलासले शुक्रबार दुवै कसुरमा रविलाई पक्राउ गर्न अनुमति दिएको हो । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अनधिकृतरूपमा गोर्खा मिडियामा लगानी गरेर अपचलन गरेको कसुरमा रविविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । काठमाडौंको वनस्थलीस्थित रास्वपाको केन्द्रीय कार्यालयमा रहेका रविलाई आजै पक्राउ गरेर स्थलमार्गबाट पोखरा लगिने छ ।
दोस्रोपटक पक्राउ गर्ने जिम्मा एसपी होविन्द्र वोगटीलाई
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं तत्कालीन गृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली खटिएको छ । कास्की जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जी बोकेर सीआईबीमा कार्यरत एसपी होविन्द्र बोगटीको टोली काठमाडौंको वनस्थली पुगेको हो । लामिछानेलाई पहिलोपटक पक्राउ गर्न पनि बोगटी नै खटिएका थिए । लामिछाने पहिलोपटक २०७६ साउनमा पक्राउ परेका थिए । त्यतिबेला पत्रकार शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहन प्रकरणमा उनी पक्राउ परेका थिए । त्यो बेला बोगटी काठमाडौं प्रहरी परिसरमा डीएसपीका रूपमा कार्यरत थिए । बोगटीकै टोलीले त्यतिबेला लामिछानेलाई पक्राउ गरेर चितवन प्रहरीलाई बुझाएको थियो । अर्को संयोग, त्यतिबेला पक्राउ परेका लामिछानेलाई राति नै गाडीमार्फत चितवन लगिएको थियो । शालिकरामले चितवनको एक होटेलमा आत्महत्या गरेका थिए । यसपटक बोगटी सीआईबीको एसपीको रूपमा कार्यरत हुँदा लामिछानेलाई दोस्रोपटक पक्राउ गर्न वनस्थली पुगेका हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *