रवि लामिछाने पक्राउ पर्नु सही हो- जनमोर्चा
काठमाडौं । राष्ट्रिय जनमोर्चाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ पर्नु सही भएको बताएको छ ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आइतबार एक विज्ञप्ति जारी गरी विभिन्न सहकारीको रकम अपचलनमा नाम जोडिएकाले रविमाथि अनुसन्धान हुनु सही भएको बताएका हुन् । ‘‘ सहकारी ठगीमा रवि लामिछानेमाथि अनुसन्धान गर्न गरिएको गिरफ्तारी सामान्यतया सही नै छ । रविमाथि कुनै राजनीतिक पूर्वाग्रहका आधारमा नभएर सत्य र तथ्यको आधारमा निष्पक्ष छानबिन गरेर कारबाही गरिनु पर्दछ’, विज्ञप्तिमा भनिएको छ ।
सभापति रवि लामिछाने शुक्रबार काठमाडौंस्थित पार्टी कार्यालयबाटै पक्राउ परेका थिए । लामिछानेविरुद्ध प्रहरीले संगठित अपराधको कसुरमा पनि अनुसन्धान हुने भएको छ ।