तिहार नजिकिँदै गर्दा तिहारका लागि फूल तयार

घोराही । तिहार नजिकिँदै गर्दा दाङमा सयपत्री फूल ढकमक्क फूलेका छन् । व्यावसायिक रूपमा फूलखेती गर्दै आएका किसानले यति बेला फूल तयार पारिसकेका छन् ।

अबको केही दिनमा फूल टिपेर माला उन्ने तयारीमा रहेको फूलखेती गदै आएका किसान बताउँछन् । घोराही उपमहानगरपालिका–१४ झिंगौराका ३९ वर्षीय लोकेन्द्र रोका मगरले सयपत्री फूल तयार पारिसकेको छ । उनले विगत १२ वर्षदेखि फूलखेती गर्दै आएको बताए । यसवर्ष पनि डेढ बिघा जग्गा भाडामा लिएर फूलखेती गरेको र चाडपर्वमा मात्रै नभइ अन्य समयमा पनि आफूले बारीमा फूल फुलाइरहेको सुनाए ।

व्यावसायिक रूपमा फूलखेती गरेका उनी यही व्यवसायमा सन्तुष्ट छन् । “विगत लामो समयदेखि विदेशमा रोजगार गरेर फर्केपछि फूलखेती थालेको हुँं । बाहिरी देशमा कमाएकोभन्दा आफ्नै देशमा फूलखेतीबाटै आम्दानी हुने गरेको छ, अब विदेश नजाने बरु यही व्यवसायलाई अझ बढाउँदै लैजाने सोच छ”, रोका मगरले भने । रोजगारीको सिलसिलामा सात वर्ष कतारमा बिताउनुभएका रोका मगरले जिल्लामा दसैँं तिहारलगायत पर्व एवं अन्य शुभकार्यका लागि फूलको माग देखेपछि फूलखेती थालेको हो ।

रोल्पा माडी गाउँपालिका–१ जबाङ दुदिलाबोट स्थायी घर भएका वीरेन्द्र खड्काले पनि घोराही उपमहानगरपालिका–१४ झिंगौरामै व्यावसायिक फूलखेती गर्दै आएको छ । उनले यसवर्ष दुई बिघा बढी जग्गा भाडामा लिएर फूलखेती गरेको छ । विगत चार/पाँच वर्षदेखि फूलखेती गर्दै आएको छ । २६ वर्षीय उनले बालिविज्ञान विषयमा तीनवर्षे डिप्लोमा तह (आइएस्सीएजी) अध्ययन गरेको छ । गत वर्ष तिहारको समयमा रु सात लाख बढीको फूल बेचेर आम्दानी गरेका उनले यस वर्षको तिहारका लागि पनि फूल फुलाइसकेको छ ।

यस्तै, घोराही उपमहानगरपालिका–१३ डुम्मर गाउँका इन्द्रा बुढाको बारीमा पनि यतिबेला फूल फुलेर ढकमक्क भएका छन् । यसवर्ष उनले १० कठ्ठा जग्गामा फूलको व्यावसायिक खेती गरेको छ । बुढाले विगत आठ वर्षदेखि व्यावसायिक फूलखेती गर्दै आएको बताए । “विगत आठ वर्षदेखि यही खेती गरिरहेको छु । विशेषगरी तिहारलगायत चाडपर्वको बेला बढी माग हुन्छ”, उनले भने,“ यसपटक पनि माग आउन थालिसक्यो । अबको केही दिनमा फूल टिपेर माला बनाउन सुरु गछौँ ।”

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *