लामिछानेसहित १२ जनालाई संगठित अपराधमा पक्राउ गर्न रुपन्देही अदालतको अनुमति

काठमाडौं । रुपन्देही जिल्ला अदालतले बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित १२ जनालाई संगठित अपराधमा पक्राउ गर्न अनुमति दिएको छ । न्यायाधीश श्यामप्रसाद श्रेष्ठको इजलासले बिहीबार उनीहरूलाई पक्राउ गर्ने अनुमति दिएको हो ।

पोखरा प्रहरी हिरासतमा रहेका रवि र छविलाल जोशीलाई थप अनुसन्धानका लागि कास्की जिल्ला अदालतले बिहीबार नै सात दिनको म्याद दिएको छ । बुटवलको सुप्रिम सहकारीको रकम गैरकानुनी रूपमा गोर्खा मिडिया नेटवर्कमा लगिएको विषयमा नेटवर्कका उपाध्यक्ष जोशीसँग दुई दिन बयान लिएर पोखरा पठाइएको छ भने रवि पनि अहिले पोखरा नै छन् ।

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन सम्बन्धमा अनुसन्धानका क्रममा पोखरा प्रहरी हिरासतमा रहेका जोशीलाई बुटवलको सुप्रिम सहकारीको रकम अपचलन सम्बन्धमा अनुसन्धान गर्न प्रहरीले सोमबार बुटवल लगेको थियो । बुटवलको सुप्रिम सहकारीबाट जोशीका नाममा दुई करोड ५० लाख रुपैयाँ गएको देखिएको छ । त्यस्तै, गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक एवं रास्वपा सभापति लामिछानेका नाममा दुई करोड रकम गएको अनुसन्धानमा देखिएको छ । अदालतको पक्राउ अनुमतिसँगै रविलाई रुपन्देही ल्याएर अनुसन्धान गरिने भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *