श्रीलंकाको पोस्टमा नेपालले पहिलो हाफमा ४–० को अग्रता
काठमाडौं । साफ महिला च्याम्पियनसिप, २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा घरेलु टिम नेपालले पहिलो हाफमा ४–० को अग्रता बनाएको छ । बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा नेपाललाई अग्रतामा राख्न रेखा पौडेलले दुई गोल गरिन् । सविता रानामगर र सावित्रा भण्डारी (साम्बा)ले समान एक गोल थपे । खेलको पहिलो मिनेटबाटै आक्रमण बुनेको नेपाललाई आठौँ मिनेटमा सविताले अग्रता दिलाइन् । सावित्राले राइट साइडबाट दुई श्रीलंकन रक्षकलाई बिट गर्दै निकालेको क्रसमा सविताले ‘फर्स्ट टच’ गोल गरिन् । सावित्रालाई मध्य भागबाट सरु लिम्बुले पास मिलाएकी थिइन् । १२औँ मिनेटमा सावित्राले नै नेपालको अग्रता दोब्बर बनाइन् ।
सावित्राले पेनाल्टी बक्स बाहिरबाट गरेको प्रहार सेकेन्ड बारमा उत्कृष्ट गोल भएको थियो । त्यसको अर्को मिनेटमै नेपालले तेस्रो गोल गर्यो । नेपालकी रेखाले खेलको गोल गर्दै घरेलु समर्थकमाझ अग्रतालाई ३–० मा राखेकी हुन् । लेफ्ट साइडबाट अमिषा कार्कीले निकालेको क्रसलाई रेखाले भली प्रहार गर्दै जाली चुमाइन् । ३६औँ मिनेटमा रेखाले नेपालको तर्फबाट चौथो गोल गरिन् । बक्सबाहिरबाट सावित्राले गरेको प्रहार ६ यार्ड बक्समा रहेकी रेखालाई ‘डिफ्लेक्ट’ हुँदै गोल भएको हो । प्रतियोगिताको समूह विजेता बन्न नेपाललाई आज ६ गोल अन्तरको जित आवश्यक छ । समूह ‘बी’मा रहेको नेपालले दुई खेलबाट चार अंक जोडेको छ । जुन शीर्ष स्थानको भुटानभन्दा तीन अंक कम हो । आजको खेलमा जित निकाले नेपालको पनि सात अंक नै जोड्ने छ । तर, गोल आधारमा भुटानलाई पछि पार्न नेपाललाई ६ गोलअन्तरको जित आवश्यक परेको हो । श्रीलंका तीन अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ ।